एपीएफ र प्रदेश एक उपाधीका लागि भिड्दै
SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७७ पौष १९, आइतबार

प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । दाङको लमहीमा आज विभागीय टोली एपीएफ र प्रदेश १ उपाधीको लागि प्रतिस्पर्धा गर्दैछन् ।
एपीएफ सुदूरपश्चिम प्रदेशलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने लुम्बिनी प्रदेशलाई पाखा लगाउँदै प्रदेश एकले फाइनलमा स्थान पक्का गरेको हो ।
दुवै टिम आ–आफ्नो सेमिफाइनल खेलमा शानदार जित हात पार्दै फाइनल पुगेको अवस्थामा आजको उपाधी भिडन्त निकै प्रतिस्पर्धात्मक र रोचक हुने आंकलन गरिँदैछ । दुवै सेमिफाइनल खेल हिजै सम्पन्न भएको थियो ।
आजको फाइनल खेलको विजेताले नगद ५ लाख पुरस्कार हात पार्नेछ भने उप विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनलमा पराजित टोली सुदुरपश्चिम र लुम्बिनीले भने २५/२५ हजार रुपैयाँ पाउनेछ ।
सुदुरपश्चिम एपीएफसँग ९ विकेटले पराजित
हिजो सम्पन्न पहिलो सेमिफाइनल खेलमा सुदुरपश्चिमलाई एपीएफले ९ विकेटले पराजित गरेको हो ।
सुदूरपश्चिमले दिएको ६१ रनको सामान्य लक्ष्य एपीएफले १५ ओभरमा मात्र १ विकेटको क्षतिमा पुरा गर्यो । एपीएफलाई जित दिलाउन ज्योति पाण्डेले अविजित २६ रनको योगदान दिइन भने सरिता मगरले अविजित १९ रन जोडिन् ।
सुदूरपश्चिमका लागि कविता कुँवरले १ विकेट लिईन् ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६ ओभरमा ७ विकेट गुमाएर मात्र ६० रन बनाएको थियो ।
मौसमको खराबीका कारण ढिला सुरु हुँदा खेल १६ ओभरमा घटाइएको थियो ।
लुम्बिनीमाथि प्रदेश एकको शानदार जित
हिजै सम्पन्न अर्को सेमिफाइनल खेलमा प्रदेश एकले लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गरेको छ ।
लुम्बिनीले दिएको ५३ रनको सामान्य लक्ष्य प्रदेश एकले मात्र ८ ओभर ५ बलमा बिना कुनै विकेटको क्षतिमा पुरा गर्यो । प्रदेश १ लाई जित दिलाउन रुबिना क्षेत्रीले अविजित २६ रनको योगदान दिइन् भने काजल श्रेष्ठ २२ रनमा अविजित रहिन ।
पहिले ब्याटिङ गरेको लुम्बिनी १४ ओभर १ बलमा मात्र ५२ रन बनाउँदै अलआउट भएको थियो । लुम्बिनीका लागि नितु भण्डारीले २१ रन जोडिन् ।
प्रदेश एककी संगीता राई र निग्मा तामाङले २–२ विकेट लिईन ।
Categorized in स्पाेर्ट्स