arin enterprises

शान्ति र स्थिरतामा कम्पाला घोषणा पत्रले जोड दिएको छः प्रधानमन्त्री

SamacharDesk | २०८० माघ ७, आइतबार

प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फर्किनुभएको छ ।

युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिई आईतवार बिहान स्वदेश फर्किनुभएको हो ।

सम्मेलनमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो । साथै उहाँले इजरायल—हमास द्वन्द्व रोकिनुपर्ने र शान्ति स्थापना हुनुपर्ने बताउनुभएको थियो ।

उहाँले अल्पविकसित राष्ट्रलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा डो¥याउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको थियो ।

तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फर्किनुभएका प्रधानमन्त्री दाहालले कम्पाला घोषणा पत्रले अन्तर्राष्ट्रिय शान्ति, स्थिरता, संयुक्त राष्ट्रसंघको, सुदृढीकरण, बहुपक्षियताको प्रवद्र्धन, सार्वभौमिक समानता, स्वतन्त्रता, अहस्तक्षेप, न्यायपूर्ण विश्व व्यवस्था, दक्षिण सहयोग, आन्दोलनका सदस्यहरुबीच आन्तरिक एकता र सद्भाव, ऐक्यवद्धता, दिगो विकासका लक्ष्य हासिल गर्ने जस्ता लक्ष्यहरुमा जोड दिइएको बताउनु भयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई स्वदेश फर्काउन पहल भइराखे पनि सरकारले भन्ने वित्तिकै रुसले मान्ने स्थिति नरहेको बताउनुभएको छ ।

रुसी सेनामा भर्ती भएकाहरुलाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको प्रधानमन्त्रीको भनाई थियो । आफूले र परराष्ट्र मन्त्रीले कूटनीतिक पहल जारी राखेको बताउँदै उहाँले रुस–युक्रेन युद्धमा भएका कारण त्यति सहज नभएको पनि प्रष्ट पार्नुभयो ।

उहाँले अवैध तरिकारले विदेशी सेनामा भर्ती हुनु हुँदैन भनेर जनचेतना फैलाउन मिडियाहरुसंग आग्रह पनि गर्नुभयो । 

उहाँले जािगर खाने नाममा राज्यको नीति र संविधानको विरुद्धमा नलाग्न पनि आग्रह गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा युगाण्डाका राष्ट्रपति, भारतीय विदेशमन्त्री लगायतका उच्च पदस्थ व्यक्तिहरुसँग भेट भएको पनि बताउनु भयो ।

Categorized in राष्ट्रिय