प्रधानमन्त्री देउवाले भारतको तीनदिने भ्रमण गर्ने
SamacharDesk – राम डंगोल | २०७८ चैत्र १५, मंगलबार

प्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा तीन दिने भारतको भ्रमण गर्नुहुने भएको छ ।
प्रधानमन्त्री देउवाले यही चैत्र १८, १९ र २० गते छिमेकी देश भारतको भ्रमण गर्न लाग्नुभएको हो । उहाँले १९ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको छ ।
आज परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता सेवा लम्सालले उक्त भ्रमणको जानकारी दिनुभएको हो । उहाँले भ्रमणको सम्बन्धमा आवश्यक तयारी अगाडी बढिरहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा चैत्र १८ गते दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उहाँ सिधै दिल्लीको चाणक्यपूरीस्थित होटल मौर्य आईसीटी पुग्नु हुनेछ । त्यही साँझ नेपाली दूतावासले आफ्नो प्राङगणमा प्रधानमन्त्री देउवाको स्वागत सम्मानमा डिनर कार्यक्रम राखेको छ ।
भ्रमणको दोस्रो दिन प्रधानमन्त्री देउवा पूर्ण रूपमा औपचारिक भेटवार्तामा व्यस्त हुने तालिका छ । शनिबार उहाँले भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक बैठक गर्नु हुनेछ । देउवा र मोदीले संयुक्त रुपमा भर्चुअली जनकपुर–जयनगर रेल्वेको उद्घाटन गर्ने कार्यक्रम छ ।
हैदरावाद हाउसमा मोदीले दिएको लञ्चमा देउवाको सहभागिता रहनेछ । देउवाले भारतीय विदेश मन्त्री एस.जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट्नु हुनेछ ।
अन्त्यतमा उपराष्ट्रपति एम.वेंकय्य नायुडसँगको भेटघाट हुनेछ । साँझ भारतीय उद्योगी व्यवापारीहरुसँगको अन्तरक्रिया प्रधानमन्त्री देउवा बसेकै होटल मौर्यमा राखिएको छ । तेस्रो दिन उहाँ सबेरै उत्तर प्रदेशको बनारसका लागि प्रस्थान गर्नु हुनेछ ।
उहाँले काशी विश्वनाथ मन्दिर, नेपाली पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । त्यहीदिन अपरान्ह प्रधानमन्त्री देउवा काठमाडौं फर्किने कार्यक्रम छ । यसैबीच चिनियाँ विदेशमन्त्री वाङ यीको भमण कोशेढुंगा साबित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकी प्रवक्ता लम्सालले चिनियाँ विदेशमन्त्रीको भ्रमण छोटो सूचनामा भएकाले बीआरआईबारे पूर्व तयारी नपुगेकाले हस्ताक्षर हुन नसकेको प्रष्टीकरण दिनुभयो ।
Categorized in राष्ट्रिय