arin enterprises

बीआरआई अन्तर्गत ऋण लिने सम्झौता भएको छैन : प्रधानमन्त्री ओली

SamacharDesk | २०८१ मङ्सिर २०, बिहिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताउनुभएको छ।

चारदिने भ्रमण पूरा गरी आज स्वदेश फर्किनु भएका प्रधानमन्त्री ओलीले चीन भ्रमण ऐतिहासिक बनेको दाबी गर्नुभयो । नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा सम्झौता भएको छ।

बेइजिङमा भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गर्नुभएको थियो।

बीआरआई फ्रेमवर्कमा सहमति हुनु ऐतिहासिक उपलब्धि भएको भन्दै उहाँले बीआरआई अन्तर्गत ऋण लिने कुरा नभएको जिकीर गर्नुभयो । ऋण लिने कुरै भएको छैन भन्दै उहाँले ऋण लिने भयो भनेर सारङ्गी बजाउनुको अर्थ छैन भन्नुभयो ।

प्रधानमन्त्री केपी ओलीले र उहाँका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएको थियो। उक्त समझदारीमा दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

यस्तै नारायणगढ – बुटवल सडकखण्डको काम अबको केही समयभित्र पुनः शुरु हुने र २०८३ भित्र पुरा हुने बताउनुभयो ।

गत सोमबार ८७ सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जानुभएका ओलीले चीनमा रहँदा त्यहाँका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङसंग दुई पक्षीय भेटवार्ता गर्नुभएको थियो ।

दुई पक्षीय वार्तामा नेपाल र चीनबीच नौ बुँदे विकास कार्यक्रममा सहमति भएको थियो । यस्तै हिजो नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा सहमति भएको थियो ।

बीआरआई अन्तर्गत एड एसिस्ट्यान्स फाइनान्सिङको मोडलमा काम हुने भनिए पनि त्यसको ब्याख्या भने भएको छैन ।

Categorized in राष्ट्रिय