धान दिवसमै रोपाइँमा प्रहरीबाट अवरोध
SamacharDesk – विकाश | २०७७ आषाढ १५, सोमबार

आज असार १५, किसानहरुको लागि विशेष दिन । कृषि पेशा गर्दै आएका प्राय देशैभरका सबै किसानहरुले आज खेतमा धान रोप्दै धान दिवस मनाए ।
काठमाडौं उपत्यकाभित्रको प्राचीन वस्ती खोकनाका किसानहरु पनि आजको दिन कुरेर बसेका थिए । विहानै उठेर सबै खेतमा पुगे । धान रोप्न थाले ।
यहाँको रौनक नै बेग्लै थियो । पानी पनि पर्दै थियो । तैपनि पानीको पर्वाह नगरी कोही धान रोप्दै थिए त कोही धिमेय्, भुस्याः लगायतका परम्परागत बाजा बजाउँदै थिए ।
खोकनाका किसानहरु धान रोप्दै गर्दा त्यहाँ प्रहरी आइपुग्यो र रोपाईँमा अवरोध गर्न थाल्यो ।
यो रोपाईँमा किसानहरु खुसियाली भने थिएन । यो एउटा आक्रोश थियो, विरोधको स्वरुप थियो ।
फास्ट ट्र्याकको नाममा खोकनाका किसानहरुको खेती योग्य जमिन खोसिएको थियो ।
काठमाडौं–निजगढ जोड्ने फास्ट ट्र्याकको जीरो प्वाइन्ट मानिएको सुडोल क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ ।
खेती योग्य जमिन मास्न नपाइने अथवा जग्गाको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग स्थानीयवासीले गर्दै आएका छन् ।
सरकारले यो क्षेत्रका जग्गा धनीलाई क्षतिपुर्ति दिने भनेपनि कौडीको भाउमा जग्गाको मूल्य तोकेको स्थानीय किसानको भनाई छ ।
प्रति आना १० लाखको हाराहारीमा मूल्य रहेको ठाउँमा सरकारले प्रति आना १ लाख ३० हजार मात्र तोकेको बताइएको छ ।
खोकनावासीले आफ्नो पेट पाल्ने माध्यम बनेको जमिन विना क्षतिपुर्ति खोस्न नपाइने भन्दै निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन् ।
यसैक्रममा सरकारले खेती गर्न रोक लगाएको खेतमा किसानहरुले धान रोपेर विरोध प्रदर्शन गरेका हुन् ।
सो अवसरमा स्थानीय किसान महिला पुरुषको साथमा बालबालिका र जनप्रतिनिधि समेत धान रोप्न खेतमा पुगेका थिए । प्रहरीको अवरोधकै बीच स्थानीयले खेत जोतेर धान रोपेका थिए ।
यसैक्रममा केही वेर स्थानीय किसान र प्रहरीवीच झडपको स्थिती समेत बनेको थियो ।
खोकना जनसरोकार समितिले आज रोपाईँको शुरुवात भएको र भोलि पनि यो कार्यक्रम निरन्तर हुने जनाएको छ ।
विरोध प्रदर्शनकै क्रममा आज बेलुकी खोकनामा मशाल जुलुस समेत निकालिएको छ ।
Categorized in राष्ट्रिय