संसद विघटन सिफारीसको व्यापक आलोचना
SamacharDesk – बिकाश | २०७७ पौष ५, आइतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारीस गरेसँगै सामाजिक संजालमा यसको व्यापक आलोचना पनि शुरु भएको छ ।
सत्तारुढ दल नेकपाकै प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीट गर्दै प्रधानमन्त्रीको यो कदम गैर संवैधानिक, अलोकतान्त्रिक, निरंकुश र परिवर्तन विरोधी प्रतिगामी कदम भनेका छन् ।
यस विरुद्ध गणतन्त्र र लोकतन्त्र एवम् पक्षधर एक हुन समेत श्रेष्ठले आव्हान गरेका छन् ।
आज प्रधानमन्त्री श्री के पी शर्मा ओलीले सँघीय प्रतिनिधिसभा बिघटन गर्न गर्नुभएको सिफारिश गैर संवैधानिक,अलोकतान्त्रिक,निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो।यो लागु हुन सक्दैन।यसको बिरुध्द सँघीय लोकतान्त्रिक गणतन्त्र,लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पुर्ण शक्तिहरु एक होऔं ।
— NKShresthaPrakash (@nksthaprakash) December 20, 2020
प्रमखु प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि प्रतिनिधि सभा विघटनको सिफारीसलाई असंवैधानिक भनेका छन् ।
सभापति देउवाले यो सिफारीसलाई अधिनायकवादी भन्दै सिफारीसप्रति आफुहरुको गम्भीर असहमति रहेको जनाउनुभएको छ ।
साथै संविधान विपरितको सिफारीस स्वीकार गर्न राष्ट्रपति बाध्य हुनुपर्ने नदेखिएको समेत देउवाले लेखेका छन् ।
‘यो कदमको राजनैतीक प्रतिवाद गर्न नेपाली काँग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेछ’ देउवाले ट्वीटरमा लेखेका छन् ।
प्रतिनिसभा #विघटनको सिफारिस #असंवैधानिक छ।
— Sher Bahadur Deuba (@DeubaSherbdr) December 20, 2020
अधिनायकवाद उन्मुख यो कदमप्रती हाम्रो गम्भीर #असहमति छ। संविधान विपरीतको सिफारिस स्वीकार गर्न रास्ट्रपति बाध्य हुनुपर्ने देखिन्न ।
यो कदमको राजनैतिक #प्रतिवाद गर्न नेपाली #कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेछ ।
संसद विघटनको निर्णयपछि मुलुकमा विकसित घटनाक्रम बारे छलफल गर्न भनेर आज दिउँसो ३ बजे राप्रपाको सचिवालय वैठक बस्न लागेको छ ।
त्यस्तै विवेकशील साझा पार्टीले पनि ट्वीटर ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी भएको भन्दै विरोध प्रदर्शनका लागि दिउँसो ३ बजे बालुवाटरमा भेला हुन आव्हान गरेको छ ।
अहिले ट्वीटरको साथमा फेसबुकमा पनि संसद विघटन सिफारीसको विरोधको धमाधम ट्वीट र पोस्टहरु देखिरहेका छन् । साथमा ओली पक्षका नेता तथा सर्वसाधारणले भने सिफारीसको सम्वन्धमा समर्थन जनाइरहेका छन् ।
आज बसेको मन्त्रीपरिषद् वैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारीस गरेका थिए । प्रधानमन्त्री ओलीले आज बिहान बालुवाटारमा मन्त्रीपरिषदको आकस्मिक वैठक बोलाएका थिए ।
Categorized in राजनीति