arin enterprises

संसद विघटनको विरोधमा जसपाको मसाल जुलुस

SamacharDesk – बिकाश | २०७७ पौष ५, आइतबार

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले संसद विघटन गरेसँगै विभिन्न दल र समूहहरुबाट यसको विरोध शुरु भएको छ । यसै क्रममा विभिन्न स्थानमा विरोध प्रदर्शनसमेत गरिएको छ ।

जनता समाजवादी पार्टीको भातृ संगठन नेवाः राष्ट्रिय समिति अन्तर्गतको जनसरोकार समन्वय समितिले संसद विघटन गर्ने सरकारको कदमको विरोधमा मशाल जुलुस निकालेको छ ।

काठमाडौंको बाङ्खेमुढा चोकबाट निकालिएको जुलुस थँहितिबाट त्यौड हुँदै असन पुगेर कोण सभामा परिणत भएको थियो । सभालाई सम्वोधन गर्दै जनसरोकार समन्वय समितिका संयोजक श्यामकृष्ण प्रजापतिले सरकारको असंवैधानिक कदम फिर्ता नगरिए कडा आन्दोलनमा उत्रिने बताए ।

‘संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको यो निर्णय स्वेच्छाचारी र असंवैधानिक छ,’ जसपा काठमाडौं जिल्लाका अध्यक्ष समेत रहेका प्रजापतिले भने । ‘यो कदम सरकारले फिर्ता लिनैपर्छ, नभए यसको नतिजा भोग्न तयार होउन् ।’

आज विहान बसेको मन्त्रीपरिषद्को वैठकको सिफारीसलाई अनुमोदन गरी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गरेका छन् भने प्रधानमन्त्री ओलीले आगामी वैसाख २३ गते मध्यावधि निर्वाचन  गर्न प्रस्ताव गरेका छन् ।

सरकारको यो कदमप्रति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, प्रतिपक्ष जनता समाजवादी पार्टी, विवेकशील साझा पार्टी लगायतले विरोध जनाइरहेका छन् ।

Categorized in राजनीति