arin enterprises

प्रधानमन्त्री ओली संघीयता विरोधी भएको नेता श्रेष्ठको दावी

SamacharDesk – बिकाश | २०७७ मङ्सिर १८, बिहिबार

जनता समाजवादी पार्टी (जसपा) का नेता संघीय सांसद् राजेन्द्र श्रेष्ठले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री केपी शर्मा ओली ओली संघीयता विरोधी भनी प्रष्ट भएको दावी गरेका छन् ।

समाचारडेस्कसँग कुरा गर्दै नेता श्रेष्ठले प्रधानमन्त्री एवम् सत्तारुढ नेकपाका अध्यक्ष ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्तावलाई दिएको उत्तरबाट प्रधानमन्त्री ओली संघीयता विरोधी भनी प्रष्ट भएको दावी गरे ।

प्रदेशलाई केन्द्रको प्रशासनिक एकाइ भनेको सन्दर्भमा ओलीले आफुले प्रदेशलाई प्रशासनिक एकाइ नभई “राज्यको अङ्ग“ भनेको भनी दिएको स्पष्टिकरणबाट प्रधानमन्त्री ओली सङ्घीयता विरोधी रहेको प्रष्ट भएको श्रेष्ठले दावी गरे ।

‘बास्तवमा सङ्घीयता भएका धेरैजसो मुलुकहरूमा केन्द्रलाई सङ्घ र प्रदेशलाई राज्य भन्ने चलन छ,’ नेता श्रेष्ठले भने । ‘यसबाट स्पष्ट हुन्छ कि सङ्घीयतामा प्रदेशहरू भनेको राज्यका अङ्गहरू नभई राजकीय सत्ता र शासनाधिकार सम्पन्न राज्यहरू नै हुन् ।’

संघीयताविद् समेत भनेर चिनिएका नेता श्रेष्ठले संघीय व्यवस्थामा केन्द्रमा साझा शासन र प्रदेशहरूमा स्वसासनको व्यवस्था हुने भन्दै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाहरू मात्र राज्यको अङ्ग हुने भन्नुभयो ।

‘प्रदेशलाई राज्यको अङ्ग भन्नु प्रधानमन्त्रीज्यूको बुझाइको दरिद्रता मात्र नभई सङ्घीयताविरोधी विचार नै हो, ढाँटेको कुरा काटे पनि मिल्दैन’ श्रेष्ठले भने ।

ओलीले आफनो नेतृत्वको सरकारका लागि र प्रदेश सरकारका लागि दोहरो मापदण्ड बनाएको प्रष्ट रुपमा देखिएको आरोप लगाएका छन् ।

कर्णाली प्रदेशमा मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव आएपछि चालेको कदमबारे आफ्नो पार्टी “सङ्घीय ढाँचा“को नभएकोले प्रदेशको सरकारले गर्ने काम केन्द्रसँग सोधेर मात्र गर्नुपर्ने भन्ने ओलीको अभिव्यक्ति संघीयता विरोधी भएको श्रेष्ठले भने ।

‘ओलीले संसदीय लोकतान्त्रिक व्यवस्थामा सङ्घीय सरकारले गर्ने गतिविधीमा कम्युनिष्ट व्यवस्थामा जस्तो पार्टीले सञ्चालन गर्न नहुने कुरा उल्लेख गरेका छन्,’ नेता श्रेष्ठले भने । ‘तर अर्कोतिर प्रदेशको सरकारको गतिविधि भने केन्द्रसँग सोधेर गर्नुपर्ने जस्ता अन्तर्विरोधी कुरा गरेका छन् ।’

Categorized in राजनीति