स्वदेशी आलु, प्याजमा भ्याट नलाग्ने विभागको प्रष्टोक्ति
SamacharDesk | २०८० मङ्सिर २३, शनिबार

नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने आन्तरिक राजस्व विभागले स्पष्ट पारेको छ ।
आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै उद्योगी व्यवसायीले चार दिनदेखि ती वस्तुको कारोबारमा हड्ताल गरेपछि विभागले शुक्रबार यस्तो प्रष्टोक्ति दिएको हो ।
विगतमा भ्याट छुट दिइँदै आएका केही वस्तुमा चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले उक्त छुट सुविधा कटौती गरेको थियो ।
सरकारले आयातित आलु, प्याजमा मात्रै भ्याट छुट खारेज गरेको बताए पनि आन्तरिक उत्पादनमा समेत भ्याट लाग्न थालेको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका व्यापारी विरोधमा उत्रेका थिए ।
विरोधस्वरुप कालीमाटीका होलसेल व्यापारीले आलु, प्याजको आयात तथा बिक्री रोकेपछि बजारमा अभाव र चर्को मूल्यवृद्धि देखिएको छ ।
तर आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै विभागले आलु र प्याजको आन्तरिक उत्पादन बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भन्ने विषयलाई लिएर आपूर्ति असहज बनाइएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।
स्वदेशी उत्पादन अभिवृद्धि गर्न भ्याटको व्यवस्था गरिएको भन्दै विभागले आन्तरिक उत्पादनको बिक्रीमा भ्याट नलाग्ने प्रष्ट्याएको छ ।
Categorized in बिजनेस