राष्ट्रपति पौडेल जेनेभा प्रस्थान
SamacharDesk | २०८१ जेठ २९, मंगलबार

राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डाको जेनेभा प्रस्थान गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन राष्ट्रपति पौडेल जेनेभा प्रस्थान गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले यही जेठ ३१ गते सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।
राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री तथा मन्त्रीहरु पुग्नुभएको थियो ।
भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्नुहुने बताइएको छ ।
राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किनुहुने कार्यक्रम छ ।
Categorized in राष्ट्रिय