arin enterprises

तानाशाही प्रवृत्तीविरुद्ध लड्न प्रचण्डको आव्हान

SamacharDesk – बिकाश | २०७७ माघ ७, बुधबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटनले गणतन्त्र, संघीयता र समावेशिताको भावनाविरुद्ध हमला भएको बताउनुभएको छ ।

आज पेरिसडाँडामा आयोजित आदिवासी जनजाति राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राम्रो र नराम्रो विचारको जहिल्यै बहस हुने गरेको तर अहिले पार्टीभित्रको विवादको विषयले जनताको सार्वभौमसत्तामाथि नै आक्रमण गरेको विचार राख्नुभयो ।

तानाशाही प्रवृत्तिविरुद्ध धैर्यतापूर्वक र दृढतापूर्वक लड्न अध्यक्ष प्रचण्डले आह्वान गर्नुभयो ।

उहाँले वर्तमान संविधान आफैंमा पूर्ण नभए पनि अधिकतम रुपले आदिवासी जनजाति तथा पछाडि परेका वर्ग समुदायको अधिकारलाई अधिकांशरुपमा संस्थागत गरेकाले संविधानको संरक्षणमा जुट्न आग्रह गर्नुभयो ।

अहिले गणतन्त्र संकटमा परेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्रको रक्षाका लागि सबै एक हुनुको विकल्प नरहेको बताउनुभयो ।

‘पहिले सबै शक्ति र सार्वभौम अधिकार राजकीय संस्थामा नीहित थियो, तर पहिलो पटक यो संविधानले सबैलाई समान अधिकार प्रदान गरेको छ, यसलाई सबै मिलेर जोगाउनुपर्छ’, प्रचण्डले भन्नुभयो ।

सबै जाति समुदाय र वर्गको पहिलो पटक संविधानले अधिकार संस्थागत गरेकाले संविधानको संरक्षण गर्दै थप अधिकारका लागि अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

संविधानले नेपाली जनतामा सार्वभौमसत्ता निहीत भए पनि राजा महाराजको शैलीमा संसद् विघटन गरिएको उहाँले बताउनुभयो ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082