फेरी कम्यूनिष्ट एकताको झण्डा फहराउने प्रचण्डको भनाई
SamacharDesk – बिराज | २०७८ भाद्र ३, बिहिबार

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैले आत्मसमीक्षा गर्नुपर्ने बेला भएको बताउनुभएको छ ।
सहिद रामवृक्ष यादवको २७ औँ स्मृति दिवसका अवसरमा बुधबार पार्टी कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले क्रान्ति एउटा लामो सिद्धान्त भएको उल्लेख गर्दै यसबारे संश्लेषणमा कम ध्यान गएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले हजारौं सहिदहरुको सपना साकार पार्न अन्तिम समयसम्म लड्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
उहाँले कम्युनिष्ट एकता आजको आवश्यकता रहेको भन्दै सबै सकारात्मक शक्तिहरुलाई एकतावद्ध गरेर फेरि कम्युनिष्ट एकताको झण्डा उठाउने र कम्युनिष्ट एकता गरी छाड्ने संकल्पबाट पछि हट्न नसकिने बताउनुभयो ।
‘नेपालका लागि मात्रै नभइ अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका लागि पनि विचार दिन सक्ने गरी पार्टीलाई अघि बढाउनुपर्नेछ, यसका लागि पार्टीलाई तल्लो तहबाटै बलियो बनाउन म सबै नेता कार्यकर्ताहरुलाई आग्रह गर्न चाहन्छु’ अध्यक्ष प्रचण्डको भनाई थियो ।
अध्यक्ष प्रचण्डले शान्ति सम्झौता वा संघीय लोकतान्त्रिक गणतन्त्रपछि माओवादीको क्रान्तिकारी चरित्र र संस्कार उल्टो बनेको बताउनुभयो ।
उहाँले कम्युनिस्ट आन्दोलनभित्र चरम निरंकुशतावादी, फाँसीवादी र आत्मसमर्पणवादी प्रवृत्ती देखिएकाले त्यसविरुद्ध आन्दोलन गर्नुपरेको विचार राख्नुभयो ।
Categorized in राजनीति