arin enterprises

जनस्वास्थ्यमाथि खेलवाड नगर्न सरकारसँग प्रचण्डको आग्रह

SamacharDesk – बिराज | २०७८ बैशाख १३, सोमबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

आज एक प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष प्रचण्डले उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

‘स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ’ विज्ञप्तीमा प्रचण्डले लेख्नुभएको छ ।

विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिममा रहेको देशका रुपमा सचेत गराइरहेको सन्दर्भमा तीनै तहका सरकार तथा पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यहरुलाई स्वयम्सेवीका रुपमा महामारी विरुद्धको लडाइँमा सावधानीपूर्वक नेतृत्व लिन समेत उहाँले विज्ञप्तीमार्फत आग्रह गर्नुभएको छ ।

‘महामारीको सबैभन्दा बढी मार श्रमजीवि जनसमुदायलाई पर्ने भएकाले उनीहरुका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकारका साथै निजी क्षेत्रसँग पनि अपील गर्दछु’ विज्ञप्तीमा लेखिएको छ ।

सोही विज्ञप्तीमा संक्रामक भाइरसको दोस्रो लहरका कारण निधन भएका सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । साथमा उहाँले भाइरसबाट संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ ।

यसको साथै नपाली पत्रकारिता जगतले आधिकारीक सूचना तथा सन्देश प्रवाह गरी यस महामारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत उहाँले लिनुभएको छ ।

Categorized in राजनीति