नेपालको राजनीति असहज परिस्थितीमा पुगेको प्रचण्डको भनाई
SamacharDesk – बिराज | २०७७ चैत्र १२, बिहिबार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीति एकपटक फेरि असहज परिस्थितिमा जाने खतरा देखिएको बताउनुभएको छ ।
धुलिखेलमा आयोजित नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेलालाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले शान्ति सम्झौता असफल पार्न, संविधान बन्न नदिन र वाम गठबन्धन हुन नदिनका लागि कसरतमा लागेकाहरु अहिले सल्बलाएको दावी गर्नुभयो ।
उहाँले गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी व्यवस्था एकथरी मान्छेलाई पहिलादेखि नै मन नपरेको जनाउँदै तिनीहरुले नै अहिले संविधान, लोकतन्त्रमाथि प्रहार गर्न थालेको बताउनुभयो ।
‘त्यसकै परिणामस्वरुप संसद विघटन गर्ने, संविधान क्षतविक्षत बनाउने र लोकतन्त्र मास्ने प्रयास भइरहेको छ’ अध्यक्ष प्रचण्डले बताउनुभयो ।
उहाँले प्रतिनिधिसभा विघटनपछि लाखौं जनता सडक संघर्षमा उत्रिएपछि सर्वोच्च अदालतले विघटनको घोषणालाई खारेज गरिदिएको बताउनुभयो ।
जनताले एउटा ‘ब्याटल’ जिते पनि ढुक्क हुने अवस्था नरहेको उहाँको भनाइ छ । उहाँले उक्त सफलता एउटा व्याटल जितेपनि लगत्तैको सर्वोच्चको अर्को निर्णयले आफूहरुलाई सोच्न बाध्य पारेको बताउनुभयो ।
‘अझै खतराको कालो बादल मडारिरहेकोले सचेत रहनुपर्छ । हामीहरु अझै पनि प्रतिगमनका विरुद्ध संघर्षमा रहेका छौं’ प्रचण्डले भन्नुभयो ।
नेपालमा कम्युनिष्ट एकता नचाहने दक्षिणपन्थीले केपी ओलीलाई प्रयोग गरेको भन्दै उहाँले आक्रोश पोख्नुभयो ।
Categorized in राजनीति