arin enterprises

मौलिक स्थाननाम सम्वन्धि प्रस्तुति र सुझाव संकलन सम्पन्न

SamacharDesk – बिराज | २०८१ आश्विन २०, आइतबार

काठमाडौं महानगर (कामपा) भित्रका स्थानहरुको मौलिक र प्राचीन नामको अध्ययन र अभिलेखीकरण सम्बन्धि कार्यको प्रस्तुतिकरण तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।

एकीकृत शहरी विकास केन्द्रको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाबाट संचालन भइरहेको स्थानहरुको मौलिक र प्राचीन नामको अध्ययन र अभिलेखीकरण सम्बन्धि कार्यको प्रस्तुतिकरण र सुझाव संकलन कार्यक्रम गत शुक्रबार सम्पन्न भएको हो ।

कार्यक्रममा कामपा भित्रका ५ वटा वडाहरू ८, १७, १९, २० र २५ का मौलिक एवं प्राचीन स्थान नामहरूको अध्ययन तथा अभिलेखिकरण सम्वन्धि प्रस्तुति दिनुका साथै सुझाव संकलन गरिएको थियो ।

एकीकृत शहरी विकास केन्द्रका परियोजना संयोजक यशमान कर्माचार्यले स्थान नामहरुको अध्ययन विधि, प्रक्रिया र प्रगतिबारे प्रस्तुति दिएका थिए ।

सम्पदा तथा पर्यटन विभागका उप निर्देशक श्रृजु प्रधानले कामपाले यस परियोजना संचालन गर्नुको उद्देश्यमाथि प्रकाश पारिन् ।

कामपाका प्रवक्ता साथै वडा १७ का वडाध्यक्ष नवीन मानन्धरले स्थानीय भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनका लागि सधैं क्रियाशील रहिरहने प्रतिवद्धता व्यक्त गरे ।

पाँच वटै वडाका वडाध्यक्षहरूले आआफ्नो वडाको विषयमा सुझाव दिएका थिए । विज्ञहरूले यस परियोजनाबाट लोप हुँदै गएका मौलिक र प्राचीन स्थान नामहरु उजागर हुने धारणा राख्दै परियोजनाको प्रशंसा गरे ।

कार्यक्रममा सम्बन्धित ५ वटै वडाका वडाध्यक्ष, प्रतिनिधिको साथमा भाषाविद्, सँस्कृतिविद् र इतिहासविद्हरूको समेत उपस्थिति रहेको थियो ।

Categorized in स्थानीय