राष्ट्रपति पौडेलको भारतस्थित एम्समा उपचार
SamacharDesk | २०८० बैशाख ६, बुधबार

राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार सुरु भएको छ ।
उहाँलाई आज बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । छातीमा संक्रमण देखिएपछि विज्ञ चिकित्सकहरुको उपचार निगरानीमा रहेका राष्ट्रपति पौडेललाई सोमबार नियमित फलोअपका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो ।
मंगलबार रिंगटा लागेर बेहोस जस्तै भएपछि पुनः अस्पताल भर्ना गरेर चिकित्सकको निगरानीमा राखिएको थियो । उहाँलाई देखिएको संक्रमणको समस्या लामो समयसम्म एन्टिबायोटिक्स सेवन गर्दा पनि निको नभएर थप जटिल बन्दै गएपछि परिवार र चिकित्सकहरुको सल्लाहमा भारत लगिएको हो ।
राष्ट्रपति पौडेललाई एम्सको भीआईपी आईसीयूमा राखेर उपचार सुरु गरिएको छ । राष्ट्रपतिलाई लिन भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजन प्रमुख अनुराग श्रीवास्तव विमानस्थल पुग्नुभएको थियो ।
उहाँलाई उच्च सुरक्षासहित एम्स पु¥याइएको थियो । राष्ट्रपति पौडेलका छोरा चिन्तन पौडेलका अनुसार उहाँको उपचारमा हाल एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न छ ।
चिकित्सकहरूले राष्ट्रपतिको नेपालमा गरिएका लगभग सबै परीक्षणहरु पुनः दोहो¥याउनुका साथै केही थप परीक्षण थालेका छन् ।
Categorized in राष्ट्रिय