समानुपातिक प्रतिनिधित्व खुम्च्याएर संविधान संशोधन गरे विद्रोह हुने अध्यक्ष श्रेष्ठकाे भनाइ
SamacharDesk – बिराज | २०८१ फाल्गुण ९, शुक्रबार

जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संविधान संशोधन गर्दा समानुपातिक प्रतिनिधित्व प्रणाली हटाए देशमा ठूलो विद्रोह हुने कुरा बताएका छन् ।
प्राध्यापक, डाक्टर, इञ्जीनियर, कानुन व्यवसायी, पत्रकार, शिक्षक, अडिटर, राष्ट्रसेवक, भूपु कर्मचारीलगायतका बौद्धिक पेसाकर्मीहरूको छाता सङ्गठन नेपाल बौद्धिक पेसाकर्मी महासङ्घ पुनर्गठनका लागि भएको घोषणा सभामा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो भनेका हुन् ।
श्रेष्ठले आफ्नो पार्टीले समाजवाद सँगसँगै सङ्घवादलाई पनि सिद्धान्तको रूपमा मानेको बताउँदै उत्पीडित राष्ट्रियताहरूको मुक्ति सङ्घवादले र श्रमजीवी वर्गको मुक्ति समाजवादले गर्ने मौलिक सिद्धान्तको रूपमा सङ्घीय समाजवाद अगाडी सारेको बताए ।
नेपाल जस्तो बहुलतायुक्त मुलुकका लागि सङ्घवाद र समाजवादलाई सिद्धान्त मान्ने नयाँ ढड्गको पार्टीको आवश्यकता भएको स्पष्ट पार्दै श्रेष्ठले राजनीतिक रूपमा उत्पीडित राष्ट्रियताहरूको मुक्तिका लागि सङ्घीयता र साङ्गठनिक रूपमा जस्तो समाज उस्तै पार्टी– जस्तो समाज उस्तै राज्यको नारा अगाडी सारेको कुरा बताए ।
नेपाली काङ्ग्रेस र नेकपा (एमाले)ले राजनीतिक स्थिरताका लागि भन्दै समानुपातिक निर्वाचन फेर्ने कुरा गर्नु टाउको दुख्दा नाइटोमा औषधी हालेजस्तो भएको विचार श्रेष्ठले राखे ।
घोषणा सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय समितिका अध्यक्ष अशोक कुमार राईले पहिचानसहितको सङ्घीयताबिना देशमा स्थायीत्व नहुने बताए । आफूहरूले राजनीतिक सिद्धान्त, माग र मुद्दाहरूमा केन्द्रित भएर पार्टी पुनर्गठन गरेको बताउँदै राजनीतिक मुद्दालाई ओझेलमा पार्न जसपा नेपालका नेताहरूले मुद्दा हालेको दावी राईले गरे ।
पूर्वमन्त्री समेत रहेका राईले बौद्धिक पेसाकमीहरूको देश निर्माणमा ठूलो भूमिका हुने भन्दै व्यापक रूपमा सङ्गठन विस्तार गर्न निर्देशन दिए ।
कार्यक्रममा पार्टीका उपाध्यक्षद्वय रणध्वज कन्दङ्वा र सुशिला श्रेष्ठले पनि आआफ्ना विचार राखेका थिए ।
सभाले बौद्धिक पेसाकर्मी महासङ्घको अध्यक्षमा लामो समयदेखि अध्यापन कार्यमा संलग्न अर्जुन श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । अन्य पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा डा. युवराज लिम्बू, उपाध्यक्षहरूमा डा. अमीर आलम र नातिकाजी महर्जनलाई चयन गरेको छ ।
महासचिवको जिम्मेवारी दिलिप कुमार साहले पाउँदा सचिवहरूमा के वि अधिकारी र बागधन राई, कोषाध्यक्षमा संजय कुमार न्यौपाने चुनिए ।सदस्यहरूमा प्रकाश श्रेष्ठ, जहर सिं राई, डा. सरिता, बसन्त कुमार कनौजिया चयन भएका छन् ।
Categorized in राजनीति