arin enterprises

लामो दूरी चल्ने सवारी भाडामा वृद्धि

SamacharDesk – राम डंगोल | २०७८ चैत्र २१, सोमबार

सरकारले लामो दूरी चल्ने सार्वजनिक सवारीको भाडा वृद्धि गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको  मन्त्रीस्तरीय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीको भाडा १० प्रतिशतले वृद्धि गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै यातायात व्यवसायीहरूले सवारी साधनको भाडा बढाउन माग गर्दै आएका थिए । यसअघि गत असारमा पनि लामो दूरीमा चल्ने सार्वजनिक सवारीको भाडा २० देखि २८ प्रतिशतले वृद्धि गरिएको थियो ।

यस्तै, मालबाहक सवारीका लागि पहाडमा १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको विभागले जनाएको छ ।

लामो दूरीको सवारी भाडा बढेसँगै छोटो दुरीको सवारी भाडा समेत बढाउन व्यवसायीले छलफल थालेका छन् ।

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधन व्यवसायीले भाडा बढाउन प्रदेश सरकारसँग माग गर्दै आएका छन् ।

प्रदेश अन्तर्गतको भाडा भने सम्बन्धित प्रदेशले तय गर्नेछ ।

Categorized in राष्ट्रिय