गण्डकी प्रदेशमाथि बागमतीको शानदार जित
SamacharDesk – बिराज | २०७७ पौष १५, बुधबार

दाङको लमहीमा जारी प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता टी–२० अन्तर्गत आज सम्पन्न दोश्रो खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशमाथि शानदार जित हासिल गरेको छ । बागमतीले गण्डकीलाई ६५ रनले पराजित गर्दै पहिलो जित हासिल गरेको हो ।
आजको खेलमा बागमतीले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेटको क्षतिमा मात्र ८८ रनमा सिमिति बन्न पुग्यो ।
गण्डकीका लागि श्रृष्टि पौडेलले सर्वाधिक ३० रन जोडिन् भने टिमका लागि कप्तान शिला क्षेत्रीले २६ रनको योगदान दिइन् ।
बलिङतर्फ बागमतीका लागि कप्तान अस्मिना कर्माचार्य, सुमन खतिवडा, आरती बिडारी र निशा तामाङले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा एक सय ५३ रन बनाएका थियो ।
एक सय ५३ रनको विशाल योगफल बनाउन कन्चन श्रेष्ठले २७ रन बनाइन् भने विन्दा कटवालले ३८ रन जोडिन् । आरती विडारीले १० रनमा अविजित रहँदा कप्तान अस्मिना कर्मचार्यले ८ रनको योगदान दिइन् ।
बलिङतर्फ गण्डकीका लागि अलिशा लामिछानेले २ विकेट लिइन् ।
लगातार दुई खेलमा पराजित गण्डकी समूह चरणबाटै बाहिरिएको छ ।
प्रदेश एकसँग सुदूरपश्चिम ५ विकेटले पराजित
आजै सम्पन्न प्रतियोगीताको पहिलो खेलमा प्रदेश १ ले सुदूरपश्चिमलाई ५ विकेटले हराएको छ । सुदूरपश्चिमले दिएको ५४ रनको सामान्य लक्ष्यलाई प्रदेश १ ले १५.१ ओभर खेल्दै ५ विकेटको क्षतिमा पूरा गयो ।
टिमलाई जित दिलाउन कप्तान रुविना क्षेत्रीले १२ र अप्सरी बेगमले ९ रनको योगदान दिइन् । निग्मा तामाङले अविजित रहँदै ७ रन जोडिन् ।
बलिङतर्फ सुदूरपश्चिमका लागि दीपा जोराले २, कविता कुवँर र कविता जोशीले १/१ विकेट लिइन् ।
त्यसअघि सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा ५३ रन बनाएको थियो ।
खराब मौसमका कारण खेललाई १६ ओभरमा छोट्याइएको थियो ।
सुदुरपश्चिमका लागि कविता जोशीले अविजित रहँदै १४ रन बनाइन् । अन्य कुनै खेलाडीले दोहोरा अंकको रन बनाउन सकेनन् ।
ओपनर रेवती धामीले ८ र लक्ष्मी साउदले अविजित रहँदै ९ रन जोडिन् ।
बलिङतर्फ प्रदेश १ का लागि संगिता राईले ४ ओभर पूरै बलिङ गर्दै मात्र १० रन खर्चिएर ३ विकेट लिइन् । सबनम राईले २, कप्तान रुविना क्षेत्री र निग्मा तामाङले १/१ विकेट ढालिन् ।
Categorized in स्पाेर्ट्स