arin enterprises

बिना भीडभाड कुम्भेश्वरमा सर्वेश्वर महादेवको जात्रा सम्पन्न

SamacharDesk – शिवेश शर्मा | २०७७ श्रावण १९, सोमबार

ललितपुरको कुम्भेश्वरमा जनै पूर्णिमाको अवसरमा गरिने सर्वेश्वर महादेवको जात्रा बिना भीडभाड सम्पन्न गरिएको छ । विगतका वर्षहरुमा हजारौं मान्छेहरु भेला हुने यो जात्रा यस साल एउटा उदाहरण बन्दै बिना भीडभाड सम्पन्न गरिएको छ ।

कुम्भेश्वरमा जनै पूर्णिमा मेला स्थगित भएतापनि सर्वेश्वर महादेवलाई पोखरीमा विराजमान भने गराइयो ।

कुम्भेश्वरमा सर्वेश्वर महादेवको यो जात्राको सम्वन्ध गोसाईँकुण्डसँग जोडिएको छ । जनैपुर्णिमाबाट गोसाईँकुण्डको मेला सम्पन्न हुने गर्दछ ।

गोसाईकुण्डकै पानी आउने विश्वास गरिएको पाटन कुम्भेश्वरको कोन्ती तीर्थमा सर्वेश्वर महादेवलाई पोखरीमा निर्मित खटमा विराजमान गरे लगत्तै कुम्भेश्वरमा जनै पूर्णिमा मेला सुभारम्भ हुने गर्दछ । 

जनै पूर्णिमाको अघिल्लो मध्यरात सर्वेश्वर महादेवलाई पोखरीको बीचमा खटमा विराजमान गराइन्छ । नगरा, नौबाजा, नायःखिँ, काहाः लगायतको बाजागाजासहित देवताको प्रतिमा मूलपूजारीले मन्दिरबाट ल्याइ पोखरीमा विराजमान गराउने गरिन्छ ।

पोखरीमा देवतालाई विराजमान गराएलगत्तैै राती नै हजारौंको संख्यामा भक्तजनहरु भेला हुने गर्दथ्यो । तर यस वर्ष भने त्यस्तो हुन सकेन । यस वर्ष कोरोना महामारीका कारण मेला भर्ने वातावरण नभएको अवस्थामा औपचारिकता मात्र पूरा गरी सीमित मानिसहरूको उपस्थितिमा जात्रा सम्पन्न गरीयो । 

हिजो राति करीब १२ बजेको सयममा सर्वेश्वर महादेवको मूर्तिलाई मन्दिरबाट ल्याइ खटमा विराजमान गराइयो ।

विगतमा पोखरीमा विराजमान सर्वेश्वरलाई जनै पुर्णिमाको रातमा मात्र जात्रा गर्दै मन्दिरमा लगिन्थ्यो । तर भीड हुन नदिन यसपालि आज बिहान ६ बजे नै देवतालाई पुनः मन्दिरभित्र फर्काइयो ।

ललितपुरको ठुलै मानिएको यो पर्व गरिँदा पनि मन्दिर परिसरमा सबै ढोकाहरू भने बन्द नै थियो । 

जात्राका सम्पूर्ण विधिविधान पनि पूरा गरी भीडभाड पटक्कै हुन नदिइ एउटा उदाहरण प्रस्तुत गर्दै सर्वेश्वर महादेवको जात्रा सम्पन्न भएको छ ।

अहिले जात्रापर्वकै मौसममा यो जात्राले एउटा शिक्षा पनि दिएको छ । संक्रमणको डरत्रास बिना विधिविधान पूरा गर्र्दै जात्रापर्व मनाउन सकिने शिक्षा वा भनौं बाटो कुम्भेश्वरको सर्वेश्वर महादेव जात्राले देखाएको छ ।

Categorized in संस्कृति