अन्ततः अस्ताए माणिकलाल
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ चैत्र ३, मंगलबार

मृत्यु शास्वत सत्य हो । जसको जन्म हुन्छ, एक दिन उसको मृत्यु अवश्य हुन्छ । तर मृत्यु स्वीकार्न त्यति सजिलो पनि छैन ।
अन्ततः अस्ताए उनी । सामाजिक संजालको भित्ताभरी आज उनकै श्रद्धान्जलीले भरिएको छ । तर उनको मृत्यु पनि स्वीकार्न समाजलाई सजिलो भइरहेको छैन । ‘काश, यो कुनै सपना भइदिए, उनी जिउँदै भइदिएको भए’ सामाजिक संजालको भित्तामा धेरैको यस्तै पुरा हुन नसक्ने चाहना देखिएको छ आज । तर उनी अस्ताइसके कहिल्यै नउदाउने गरी ।
वाम बुद्धिजिवी साथ साहित्य क्षेत्रमा समालोचक रुपमा परिचित प्रा. माणिकलाल श्रेष्ठ रहेनन् ।
विशेष गरी नेपालभाषा क्षेत्र आज शोकमग्न छ । जातीय र भाषिक अधिकारको आन्दोलनका अगुवा मल्ल के. सुन्दरले फेसबुकमा प्रा. श्रेष्ठको निधनले नेवाः वौद्धिक क्षेत्रमा अपूरणीय क्षति भएको बताउँदै दुःख व्यक्त गरेका छन् ।
गंगालाल अस्पतालमा आज विहान निधन
निकै समयदेखि स्वास्थ्य समस्या भोगिरहेका उनको पछिल्लो समय काठमाडौं बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत थिए । त्योभन्दा अघि उनको मेडिसिटी अस्पतालमा उपचार हुँदै थियो ।
गत दुइ सातादेखि गंगालाल अस्पतालमा उपचाररत उनी केही दिन अगाडीबाट कोमामा गएका थिए । ८९ वर्षीय श्रेष्ठले मृत्युसँगको लडाईँमा आज विहान ७ बजे गंगालाल अस्पतालमा अन्तिम सास लिए ।
तेश्रो पटकको पास्नी नहुने भयो
नेवार समाजमा ७७ वर्ष, ७ महिना ७ दिन ७ घडि ७ पलामा पहिलो पटकको पास्नी भीमरथारोहण गराउने र हजार चन्द्र दर्शनपछि दोश्रो पटकको पास्नी चन्द्ररथारोहण गराउने परम्परा छ ।
त्यस्तै ८८ वर्ष, ८ महिना, ८ दिन, ८ घडि, ८ पलामा तेश्रो पटकको पास्नी महारथारोहण गर्ने गरिन्छ ।
घरमा उनको महारथारोहणको तयारी हुँदै थियो । तर अब उनको महारथारोहण नहुने भयो ।
साहित्य र वामपन्थी राजनीतिकका ज्ञाता
श्रेष्ठले वामपन्थी राजनीतिका ज्ञाताको रुपमा ख्याति कमाएका छन् । तर जीवनभर उनी कुनै पनि राजनीतिक पार्टीमा आवद्ध भएनन् ।
साहित्य क्षेत्रमा उनको विशेष योगदान रहेको छ । नेपालभाषाको साहित्य क्षेत्रमा त उनले आफ्नो जीवनको लामो समय योगदान दिए ।
समालोचनाका विशेषज्ञ नै भन्दा फरक नपर्ला उनलाई । उहाँले लेख्नुभएको नेपालभाषाको पुस्तक ‘समालोचनाया सिद्धान्त’ लाई समालोचना विधाको गाइडलाइनको रुपमा लिन सकिन्छ ।
इनसाइक्लोपिडिया नै थिए श्रेष्ठ
जीवनको केही अंश नेपालभाषा केन्द्रीय विभागमा साहित्य विषयको अध्यापनमा योगदान दिनुहुने उनको पढाउने शैली गज्जबको थियो ।
उनलाई न कुनै नोट चाहिन्छ, न ब्ल्याकबोर्ड वा ह्वाइट बोर्डमा केही लेख्नु नै पर्छ । न त विद्यार्थीले नै केही नोट गर्नुपर्ने आवश्यकता हुन्छ । आफुले पढाउने विषयसँग सम्वन्धित हरेक घटनाक्रम, पात्र, तिथिमिति आदि उनलाई पुरै कण्ठै रहन्थ्यो ।
उहाँको लेक्चरको धारा प्रवाह सररर यसरी बग्थ्यो, विद्यार्थीको प्राकृतिक हार्ड ड्राइभमा सेभ नै हुन जान्थ्यो । उहाँकै लेक्चरकै भरमा परिक्षा मजाले दिएको अनुभव धेरै विद्यार्थीहरुको रहेको छ ।
पत्रकारिता क्षेत्रमा समेत अतुलनीय योगदान
पत्रकारिता क्षेत्रमा पनि उनकै योगदान त्यत्तिकै सहानीय छ । नेपालभाषाको पहिलो र नेपालकै तेश्रो दैनिक पत्रिका ‘नेपालभाषा दैनिक’ को निरन्तरताको लागि समेत उनले योगदान दिएका छन् ।
उहाँकी अर्धाङ्गिनी नेपालकी प्रथम महिला न्यायाधिश सिलु श्रेष्ठको दुई वर्ष अघिमात्र निधन भएको थियो ।
स्वर्गीय प्रा. श्रेष्ठको दुई सुपुत्रहरु छन् । जर्मनीमा रहेका ज्येष्ठ सुपुत्र डा. मलखलाल श्रेष्ठ नेपाल आइपुगेपछि स्वर्गीय श्रेष्ठको अन्तिम संस्कार गरिने भएको छ ।
Categorized in समाज