arin enterprises

जातीय भेदभाव विरुद्ध न्यूरोडमा कार्यक्रम हुँदै

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ जेठ २१, सोमबार

आज जेठ २१ अर्थात जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस । जातीय भेदभाव र छुवाछुट नगरौं भन्ने सन्देश सहित आज नेपालभरी विभिन्न कार्यक्रम यो दिवस मनाईँदैछ ।

२०६३ २१ जेठ मा संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो भने यसै दिनको सम्झनामा २०६८ देखि नेपालमा यो दिवस मनाउन सुरु गरिएको हो ।

दिवसकै सन्दर्भमा काठमाडौंमा पनि सरकारी वा गैर सरकारी विभिन्न तहबाट कार्यक्रमको आयोजना गरिँदैछ ।

यसै क्रममा नेपाः युथ अर्गनाइजेसनले काठमाडौंको न्यूरोडमा कार्यक्रमको आयोजना गरेको छ । न्यूरोड जुद्ध शालिक वरिपरि विभेद र छुवाछुट विरुद्ध प्लेकार्ड प्रदर्शनी गरिने अर्गनाइजेसनका का.वा. अध्यक्ष बिजय डंगोलले जानकारी दिए ।

‘संविधानले जातीय भेदभाव र छुवाछुट गर्न नपाइने व्यवस्था त गरेको छ तर, यो व्यवहारमा लागू हुन सकेको छैन । समाजमा विद्यमान यस्ता विभेद विरुद्ध जनचेतना फैलाउन आज मात्र होइन, हामी निरन्तर लागिरहने छौं’ का.वा. अध्यक्ष डंगोलले बताए ।

यस्ता विभेदविरुद्ध एकजुट भई आवाज उठाउन आज साँझ ५ बजे न्यूरोड जुद्धशालिकमा भेला हुन पनि अध्यक्ष डंगोलले आह्वान गरे ।

कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, उत्पत्ति, जात, जाती, वंश, समुदाय, पेसा, व्यवसाय, वा शारीरिक अवस्थाका आधारमा कुनै काम गरे वा गराएमा छुवाछुत तथा भेदभाव भनिन्छ ।

नेपालको संविधान २०७२ को धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक अधिकार सोसरह सुनिश्चित गरेको छ ।

यदि छुवाछुत तथा भेदभाव गरिएको ठहर भएमा ३ वर्ष सम्म कैद वा एक हजार देखि २५ हजारसम्म जरिवानाको प्रावधान राखेको छ । 

Categorized in समाज