मरणोपरान्त आँखा दान गर्ने दाताको सम्मानमा श्रद्धान्जली सभा
SamacharDesk – निर्मल बज्राचार्य | २०८० जेठ ३०, मंगलबार

मरणोपरान्त आँखाको नानी दान गर्ने दाताहरुको सम्मानमा वृहत श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । तिलगंगा आँखा प्रतिष्ठान र नेपाल आँखादान समाजको संयुक्त आयोजनामा श्रद्धान्जली सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले आँखा स्वास्थ्यको क्षेत्रमा विश्वमै प्रख्याति कमाइरहेका डा. सन्दुक रुइतलाई एशियाकै दृष्टिको मामिलामा जिउँदो भगवानको रुपमा रहेको बताए ।
कार्यक्रममा वरिष्ठ कलाकार आचार्यले नेपाल आँखा बैंकसंग कर्निया संकलनमा सहकार्य गरेका अस्पतालहरुलाई कदर पत्र प्रदान गरे ।
श्रद्धाञ्जली सभामा आँखाको नानी दान गरेका दाताका छोराहरु वरिष्ठ कलाकार कृष्ण सिवाकोटी, नेपाल आँखादान समाजका अध्यक्ष हरिकुमार सिलवाल, दाताकी पत्नी शक्ति अधिकारी, शिरोमणी पंडित तथा कथावाचक दिपक पौडेलले आँखादानमा जोड दिँदै आआफ्ना विचार राखेका थिए ।
त्यस्तै मृतकबाट आँखाको नानी (कर्निया) प्रत्यारोपण गरेर दृष्टि पाएका शेरबहादुर ओली, जन्मजात दृष्टिविहिन हुँदै मृतकबाट आँखा पाएका सविन बोगटी, १३ बर्षका प्रल्हाद कार्कीले मृतकको आँखाबाट दृष्टि पाएकोमा मृतकका परिवारलाई धन्यवाद् ज्ञापन गरे ।
कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका सीइओ डा रिता गुरुङ्ग, आँखा बैंकका मेडिकल डाइरेक्टर डा. लीना बज्राचार्य, आँखा बैंकका प्रवन्धक शंख नारायण त्वायना लगायतले मरणोपरान्त आँखा दान गर्नाले अन्य कोही दृष्टिविहिनले दृष्टि पाउनेमा जोड दिँदै सबैलाई आँखा दान गर्न आग्रह गरे ।
Categorized in समाज