उपत्यकामा १६ गतेबाट निषेधाज्ञा
SamacharDesk – बिराज | २०७८ बैशाख १३, सोमबार

बढ्दो कोरोना संक्रमणलाई नियन्त्रणमा लिन काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । काठमाडौं उपत्यकाका ३ शहर काठमाडौं, ललितपुर र भक्तपुरमा आउँदो वैशाख १६ गतेदेखि निषेधाज्ञा लाग्ने भएको हो ।
उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आजको बैठकले उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
निषेधाज्ञामा भने लकडाउनमा जस्तै सबै सेवाहरु बन्द हुनेछैनन् । निषेधाज्ञा जारी भएसँगै वैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुनेछ ।
एम्बुलेन्स, शव वाहन, दमकल लगायतका अत्यावश्यक सेवाका सवारी साधनको साथमा कुटनीतिक नियोग, प्रेस लगायतका सवारी साधन चल्ने छ भने सार्वजनिकको साथमा निजी सवारीसाधन समेत चलाउन पाइने छैन । सरकारी कार्यालयहरु बन्द हुनेछन् ।
खाद्यान्न, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला हुनेछ । त्यस्तै रेष्टुरेन्टहरुले होम डेलिभरीमात्र गर्न पाइनेछ । पार्टी प्यालेसहरु यस अघि नै बन्द भइसकेका छन् ।
बैंक तथा वित्तीय संस्था आधा जनशक्ति राखेर सञ्चालन गर्न पाइनेछ ।
Categorized in राष्ट्रिय