arin enterprises

प्रोजेक्ट नजिक मार्फत दिपक बज्राचार्य फ्यानहरुसँग नजिकिँदै

SamacharDesk – बिराज | २०८० श्रावण २, मंगलबार

तीन दशकदेखि निरन्तर रुपमा सांगीतिक लोकप्रिय रहँदै आएका गायक दीपक बज्राचार्यले संगीत क्षेत्रमा ‘प्रोजेक्ट नजिक’ ल्याएका छन् ।

सांगितिक कोसेलीहरुको नयाँ प्याकेज ‘प्रोजेक्ट नजिक’ आफ्ना फ्यानहरुको लागि ल्याएको गायक बज्राचार्यले बताएका छन् । प्रोजेक्ट नजिकमार्फत आफ्ना दर्शक श्रोताहरुसँग प्रत्यक्ष रुपमा नजिक हुन चाहेको गायक बज्राचार्यको भनाई छ ।

‘नयाँ र केहि पुराना करिब ८/९ वटा गीतहरुलाइ नयाँ सैलीमा आफ्नो दर्शक श्रोताहरु माझ ल्याउनेछौं । र यी नयाँ प्रस्तुतिहरुलाई मात्र म्यूजिक भिडियोमा सिमित नराखी फरक सैलीमा लाइभमार्फत दर्शक, श्रोतामाझ लाइभ आउनेछु’ बज्राचार्यले बताए ।

यस अघि गायक बज्राचार्यले क्रीम अफ रीदम नामक अभियानमार्फत आफ्ना नयाँ पुराना गीतहरुलाई खिं, धिमेय्, डम्फु, मादल लगायतका नेपालकै विभिन्न लोक बाजाहरुसँग संयोजन गरी प्रस्तुत गरेका थिए ।

यस अभियानमार्फत उनले नेपाली संगीत क्षेत्रलाई मनमगनलगायत थुप्रै लोकप्रिय गीतहरु दिए । क्रीम अफ रीदम पछि बज्राचार्यले प्रोजेक्ट नजिक ल्याएका हुन् ।

दीपकका अनुसार प्रोजेक्ट नजिक एउटा ‘डिजाइनिङ्ग शो’ हो र यसलाई ३ खण्डमा बाँडिएको छ ।

पहिलो खण्ड अन्तर्गत स्पटलाइट इभेन्ट भनेर अनप्लग्ड लाइभ प्रोग्राम हुनेछ । यस अन्तर्गत उनले आफ्ना गीतहरुलाई फरक सैलीमा प्रस्तुत गर्नुका सार्थ दर्शकहरुसँग अहिलेसम्म नसुनिएका नगरिएका कुराकानीहरु पनि गरिनेछ ।

दोश्रो खण्ड अन्तर्गत ‘नजिक मोमेन्ट–मिट एण्ड ग्रिट’मा आफ्ना दर्शक श्रोतालाई अझ नजिकबाट चिन्न र चिनाउनका साथै केहि समय सँगै बिताएर त्यो क्षणलाई तस्बीरहरुमा कैद गर्ने कोशिश गरिनेछ ।

तेश्रो तथा अन्तिम खण्ड अन्तर्गत मुख्य कार्यक्रमको मज्जा लिँदै नाच्न गाउन र रमाउनको लागि विशेष प्रस्तुतिको रुपमा तयार गरिएको नयाँ र पुराना गीतहरुको प्रस्तुतिमा सबै रमाउनेछन् । यस खण्डलाई अपबिट कन्सर्ट नाम दिइएको छ ।

‘प्रोजेक्ट नजिकको मुख्य उद्देश्य भनेको नै पर्फर्मर र दर्शक बीच निकटता ल्याउनु हो । फर्पर्मर र दर्शकबीच प्रत्यक्ष अन्तरक्रिया, कुराकानी होस्, पर्फर्मर र दर्शकले एक अर्कालाई अझ नजिकबाट चिनोस्, बुझोस् भन्ने उद्देश्य हो’ बज्राचार्यले थप प्रष्ट्याए ।

प्रोजेक्टको एउटा विशिष्ट खण्डको पहिलो झलक स्वरूप नयाँ गीत ‘एक्लो’ हालै बजारमा आएको छ ।

Categorized in पेजथ्री