बार्सिलोनालाई हराउँदै पिएसजि क्वाटरफाइनलमा
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ फाल्गुण २७, बिहिबार

युएफा च्याम्पियन्स लिग अन्तर्गत गएरातिको खेलमा बार्सिलोनाले पेरिस सेन्ट जर्मेन (पिएसजि) सँग १/१ गोलको बराबरी खेलेको छ । योसँगै पिएसजिले बार्सिलोनासँग समग्रमा ५–२ गोलले जित हासिल गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
राउन्ड अफ सिक्सटिन अन्तर्गत पहिलो लेगको खेल ४–१ ले जितेको पिएसजिले दोश्रो लेगको खेलमा १/१ गोलको बराबरी भएपनि समग्रमा ५–२ ले जितेको हो ।
गएरातिको खेलमा केलियन एम्बाप्पेले ३० औं मिनेटमा गोल गर्दै पिएसजिलाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा कप्तान लियोनेल मेस्सीले बार्सिलोनालाई बराबरीमा ल्याएपनि टिमलाई हारबाट बचाउन सकेनन् ।
त्यसैगरी च्याम्पियन्स लिग अन्तर्गत गएराति नै सम्पन्न राउन्ड अफ सिक्सटिन अन्तर्गत दोश्रो लेगको खेलमा जित हासिल गर्दै लिभरपुल पनि क्वाटरफाइनल प्रवेश गरेको छ । लिभरपुलले आरबि लेप्जिगलाई २–० ले हराएको छ ।
खेलमा लिभरपुलका लागि मोहम्मद सालाहले ७० औं मिनेटमा पहिलो गोल दिए भने ७४ औं मिनेटमा सादियो मानेले दोश्रो गोल थपे ।
लिभरपुलले समग्रमा खेल ४–० ले जितेको हो । पहिलो लेगको खेल पनि लिभरपुलले २–० ले नै जितेको थियो ।
Categorized in स्पाेर्ट्स