चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक
SamacharDesk | २०८१ बैशाख २५, मंगलबार

आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र पुजार सार्कीको ट्रेलर सार्वजनिक गरिएको छ।
काठमाडौंको वन सिनेमामा एक समारोहको आयोजना गर्दै ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो।
समारोहमा यस चलचित्रका कलाकारहरू प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य, निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता सुवास भुसाल लगायतको उपस्थिति थियो।
ट्रेलरमा जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक असरलाई उतारिएको छ। ट्रेलरमा अभिनेता पल शाहलाई समाज परिवर्तन गर्न अग्रसर युवाको भूमिकामा प्रस्तुत गरिएको छ।
‘पुजार सार्की’का यसअघि सार्वजनिक पोस्टर, टिजर तथा गीतहरू ‘दर्शन गरेँ’ र ‘रिमै’लाई रिलिज भइसकेको छ । यस चलचित्रमा तारा शर्मा, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ।
वर्ष २०८१ को लागि सर्वाधिक प्रतीक्षामा रहेको पुजार सार्कीलाई दिनेश राउतले निर्देशन गरेका हुन्। दर्शकको रोजाइका तीन स्टारहरूको अभिनय रहेको यस चलचित्रलाई लिएर लामो समयदेखि व्यापक चर्चा भइरहेको छ।
प्रसाद, क्लासिक, नोभेम्बर रेन, प्रकाश लगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन्।
यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन्। यसअघि विकास र दिनेशले चलचित्र प्रकाशमा सहकार्य गरेका थिए।
Categorized in पेजथ्री