arin enterprises

पूर्व उपराष्ट्रपति पुत्र दीपेश पुन धरौटीमा रिहा

SamacharDesk | २०८१ बैशाख ७, शुक्रबार

बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनाको आरोपमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको छ ।

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । रुपन्देही जिल्ला जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद उप्रेतीको इजलासले दिपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

इजलाशले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने थुनामा पठाउन आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेकामा आज थुनछेक बहसका क्रममा सात जना उपस्थित थिए ।

अदालतले दीपेश पुनबाट ४ लाख, नविन अछामीबाट १० लाख, लिला चापागाईंबाट १८ लाख, दीपक न्यौपानेबाट ४ लाख ४५ हजार, निता थापा मगरबाट २ लाख र रोशनी गुरुङबाट २ लाख धरौटी माग गरेको रुपन्देही जिल्ला अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिनुभयो ।

अदालतले तोकेको धरौटी रकम बुझाएपछि उनीहरु रिहा हुनेछन् । सुप्रिम सहकारीमा रकम बचत गर्ने एक हजार ८३१ जनाले आफूहरूको रकम फिर्ता नपाएको भन्दै सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएका थिए ।

बचतकर्ताको दाबी अनुसार उक्त सहकारीले करिब सवा एक अर्ब रुपियाँ अपचलन गरेको छ । सहकारी पीडितहरूले वैशाख ४ गतेदेखि निर्णायक आन्दोलन सुरु गरेका थिए ।

प्रदर्शनमा सहभागी पीडितले सहकारीको रकम हिनामिनामा संलग्न संस्थाका पूर्व अध्यक्ष जीवी राईसहितका प्रतिवादीलाई पक्राउ गरेर कारबाही गर्नसमेत माग गरेका छन् ।

Categorized in अपराध