arin enterprises

पुष्पलालको ४३ औं स्मृति दिवस आज मनाईँदै

SamacharDesk – बिराज | २०७८ श्रावण ७, बिहिबार

नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल अमात्यको ४३ औं स्मृति दिवस आज मनाईँदैछ । पुष्पलाललाई श्रद्धान्जली दिँदै आज विभिन्न कार्यक्रम गरेर उनको स्मृति दिवस मनाईँदैछ ।

यसै क्रममा काठमाडौं महानगरपालिका १८ वडास्थित पुष्पलाल स्मृति पार्कमा रहेको पुष्पलालको प्रतिमामा माल्यार्पण कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा पूर्व राज्यमन्त्री रामबीर मानन्धरसमेतको उपस्थिती रहेको थियो । कार्यक्रममा पूर्व राज्यमन्त्री मानन्धरको साथै कामपा १८ वडाका अध्यक्ष न्हुछेँकाजी महर्जन, वडा सदस्य लगायतले पुष्पलालको शालिकमा माल्यार्पण गरेका थिए ।

पुष्पलालले वि.सं. २००६ बैसाख १० गतेका दिन नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, मोतिदेवी श्रेष्ठसँग मिलेर भारतको कोलकातामा बसी नेपाल कम्यूनिष्ट पार्टीको स्थापना गरेका थिए ।

२००५ मा उनैले विश्व कम्यूनिष्ट घोषणा पत्रलाई नेपालीमा अनुवाद गरेर प्रकाशन गरेका थिए ।

नेपाल कम्यूनिष्ट पार्टीभन्दा अघि उनले विसं १९९८ मै प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरेका थिए ।

वि.सं. २०१७ सालमा राजाले प्रजातन्त्र हत्याएर पंचायती व्यवस्था ल्याएपछि उनले लामो समय निर्वासित जीवन विताउनुपर्यो ।

२०२५ सालमा उनले नेपाली काँग्रेस लगायतका प्रजातान्त्रिक शक्तिसँग मिलेर पंचायती व्यवस्था विरुद्ध ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडी सारेका थिए ।

पुष्पलालले एउटा उत्कर्षमा पुर्‍याएको नेपालको कम्यूनिष्ट आन्दोलन आजको दिनमा भने छिन्नभिन्न बनेको छ ।

दुई तिहाईको बलियो सरकारको रुपमा सत्तामा पुगेको नेकपा (एमाले) आपसी कलह र विवादकै कारण सत्ताच्यूत भएको छ । ओली गुट र नेपाल गुटमा विभाजित एमाले अहिले विभाजनको संघारमा पुगेको छ ।

१२ वर्षे जनयुद्धको नेतृत्व गरेको माओवादी पार्टी पनि समयको कालखण्डमा वैद्य, चन्द हुँदै टुक्रा हुँदै गएको छ । प्रचण्डसँगै जनयुद्धको नेतृत्व गरेका बाबुराम भट्टराई पनि माओवादी पार्टीबाट छुटेर नयाँ शक्ति पार्टी हुँदै हाल जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष छन् ।

कम्यूनिष्ट पार्टीका नेताहरुको यस्तै गतिविधिका कारण पुष्पलालको अपमान भइरहेको टिप्पणी आम नागरिकबीच हुने गरेको छ ।

पुष्पलालको जन्म रामेछापको भँगेरीमा वि.सं. १९८१ असार १५ गते भएको थियो । राणा शासनविरुद्धको आन्दोलनमा शहादत प्राप्त गरेका शहिद गंगालालका उनी माइला भाइ थिए ।

२०३५ साउन ७ गते उपचारको क्रममा भारतको नयाँ दिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उनको निधन भएको थियो । 

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082