arin enterprises

महासचिव पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवस

SamacharDesk | २०८० श्रावण ७, आइतबार

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्झनामा विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले विभिन्न कार्यक्रमका साथ स्मृति दिवस मनाउन लागेका छन् ।

मुलुकमा सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ २००६ सालमा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो ।

आजभन्दा ७४ वर्षपहिले अर्थात् विक्रम संवत् २००६ वैशाख १० ९सन् १९४९ अप्रिल २२० का दिन भारतको कलकत्तामा एक बङ्गालको घरमा कमरेड पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरिएको थियो।

नेपाल कम्युनिस्ट पार्टीका अन्य संस्थापक सदस्यमा निरञ्जनगोविन्द वैद्य, रामविलास जोशी र नरबहादुर कर्माचार्य हुनुहुन्छ। पार्टी स्थापनाको सुरुमै कमरेड पुष्पलाललाई नेपाल कम्युनिस्ट पार्टीको महासचिवमा निर्वाचित गरिएको थियो। त्यसैले कमरेड पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव हुनुहुन्छ।

भारतको कोलकतामा नेपाल कम्युनिस्ट पार्टीको  स्थापना गर्दा पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राख्नुभएको थियो ।

पुष्पलालले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गर्नुभएको थियो । राणा शासनविरुद्ध संघर्ष सुरु गरेका दाजु गंगालालको हत्या गरिएपछि पुष्पलालले दाइको अभियानलाई पूरा गर्न राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा बस्नुभएको थियो ।

विक्रम संवत १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको माइला छोराका रुपमा रामेछापको भँगेरी गाउँमा जन्मिनुभएका पुष्पलालको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

पञ्चायती व्यवस्थाका बेला तत्कालीन सरकारले उहाँको शव समेत नेपाल ल्याउन दिएको थिएन ।

Categorized in राष्ट्रिय