arin enterprises

देवताको प्यन्हु बिचाः, परम्परा र जीवन दर्शन

SamacharDesk – सन्दीप महर्जन | २०७९ जेठ २४, मंगलबार

सम्पन्न नेपाली संस्कृतिमा सुन्दा अचम्म लाग्दो, नौलो, अनौठो चलनहरु छन् । तपाईँ देवीदेवताको दर्शन गर्न त जानुहुन्छ हैन ? देउतालाई भेट्न जानुहुन्छ, देउतालाई के छ हालखबर भने सोध्न जानुहुन्छ ? भन्नाले देउता वा भगवानको हालखबर बुझ्न जानुहुन्छ ?

तर नेवाः समुदायमा यो चलन छ । नेवाः समुदायमा कुनै पनि देउताको दर्शन जात्रा पश्चात् देवतालाई के–कस्तो छ भनी हालखबर सोध्न गइन्छ । यसलाई प्यन्हु बिचाः वनेगु भनिन्छ । प्यन्हु बिचाःको मूल धारणा वा उद्देश्य भनेकै देउताको हालखबर बुझ्न जानु हो ।

यसै क्रममा रातो मछिन्द्रनाथको हालखबर सोध्ने काम पनि सम्पन्न भएको छ । अर्थात् रातो मछिन्द्रनाथ वा बुंगद्यःको प्यन्हु बिचाः वनेगु आज मंगलबार सम्पन्न भएको छ ।

जाउलाखेलमा भोटो जात्रा सकिएर बुङ्गमती ल्याएको चौथो दिनमा प्यन्हु बिचाः जाने चलन रहेको छ । यस दिन भक्तजनहरुले फूल, फलफूल, गुलुपाः, धुपबत्ती तथा पूजा लिएर बुङ्गमतीमा रातो मच्छिन्द्रनाथको दर्शन गर्न जाने गर्छन् ।

लामो समयपछी बुङ्गमती फर्केको रातो मच्छिन्द्रनाथलाई सन्चो बिसन्चो के–कस्तो छ, सबै सकुशल छ कि छैन भनेर हालखबर बुझ्न प्यन्हु बिचाः जाने गरिएको जनविश्वास रहेको छ ।

यस क्रममा विभिन्न गुथिका गुथियारहरु पनि बाजागाजाका साथ बुङ्गमती गएर रातो मच्छिन्द्रनाथको दर्शन गरि भजनकिर्तन गर्दै प्रसाद ग्रहण गरि फर्कने गर्दछन् । त्यसैले आजको दिनमा बुङ्गमतीमा बाक्लो भिड लाग्ने गर्दछ ।

रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवताको रुपमा लिइन्छ । रातो मछिन्द्रनाथको जात्रा विना कुनै विघ्नवाधा सफलतापूर्वक सम्पन्न भएमा समयमा वर्षा भई अन्न बाली राम्रो हुने जनविश्वास रहेको छ ।

मछिन्द्रनाथको जात्रा अवधिभर उपत्यकाको साथमा देशैभरीका विभिन्न स्थानबाट दर्शन र पूजाको लागि मानिसहरु पुग्ने गरेका छन् ।

सांस्कृतिक पक्ष

काठमाडौको सेतो मच्छिन्द्रनाथ, पाटनको रातो मच्छिन्द्रनाथ, मीननाथ आदिको जात्रा सम्पन्न भएपछि प्यन्हु बिचाः जाने परम्परा रहेको छ ।

यस्तै काठमाडौमा पाहाँचःर्‍हे सकिएपछि कंग अजिमा, भद्रकाली अजिमा तथा बालाचःर्‍हेमा लुँति अजिमाको जात्रा सकिएपछी लुँति अजिमा (इन्द्रायणी) कहाँ र अझै अरु ठाउँमा पनि प्यन्हु बिचाः जाने परम्पराहरु रहेको पाइन्छ ।

यस्तै विभिन्न समयमा विभिन्न देवस्थलहरुमा पनि यहि जनविश्वासमा आधारित भएर हालखबर बुझ्न प्यन्हु बिचाः जाने परम्परा अझै पनि कायम रहेको देख्न सकिन्छ ।

परम्परा/रितिरिवाज

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् । यहि संस्कृतिले यहाँको सभ्यता र परम्परासँग जोडिएको जीवन दर्शनलाई दर्शाउँछ ।

हरेक पूर्णिमा र औंसीमा भिन्न–भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै लानु नेवाः संस्कृतिको एउटा अंग हो । यसैमा पर्ने एउटा भिन्न र अनौठो लाग्नसक्ने संस्कृति हो प्यन्हु बिचाः !

सामान्यतः कुनै पनि जात्रापर्व सकिएपछी देवतालाई पुनः मन्दिरमा राखिएको चौथो दिनमा दर्शन गर्न जानु नै प्यन्हु बिचाः हो ।

व्यक्तिगत/विचार

यो परम्परा आफैंमा रोचक छ जहाँ भक्तजनहरु भगवानको हालचाल सन्चो बिसन्चो बुझ्न जाने गर्दछन् ।

यो परम्पराले तत्कालीन समयमा देवता र मानिस बीचको आत्मीयता, सामीप्यता तथा भगवान प्रतिको श्रद्धा र आस्था कति माथि थियो भन्ने कुरा प्रष्ट बनाउँछ ।

यस्ता स–साना परम्परा धेरै छन् र यी परम्परा नै हाम्रो आस्थाको धरोहर हो । यस्ता परम्परालाई मात्र कर्मकाण्डी मात्र बनाउने र औपचारिकतामा सिमीत राख्ने हो समयसापेक्ष नदेखिन सक्छ ।

परम्परासँग जोडिएका जीवन दर्शन, यसको सामाजिक मूल्य मान्यताको चर्चा नगर्ने हो भने कति संस्कारलाई निरन्तरता दिनुपर्नाको कारण थाहा नहुन सक्छ । तर यी परम्पराहरुमा भित्र पक्कै पनि केही न केहि जीवन दर्शन त लुकेको छ नै !

यस्ता अनगिन्ती संस्कृती र परम्परा जोगाउनु हामी सबैको धर्म र कर्तव्य हो ।

Categorized in संस्कृति
SKIP THIS maharjan complex bumper adv