arin enterprises

निष्पक्ष मिडिया र वाक् स्वतन्त्रताको प्रश्न : कहाँ–कहाँ चुक्यो नेतृत्व ?

SamacharDesk – ‘सर्वेन्द्र’ | २०७७ माघ १४, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले केहीअघि प्रेस संगठन नेपाल भेलालाई सम्बोधन गर्ने क्रममा पत्रकारलाई आफ्नो पक्षमा उभिन पाठ पढाए । “पत्रकार हुँ भन्नेबित्तिकै फलानो पार्टीको हो भनेर चिनोस्”, “नर्कमा जाने”जस्ता अभिव्यक्ति दिएर आफ्ना पार्टीनिकट पत्रकारहरूलाई ‘पार्टीगत तालिम’ दिन खोज्नुले प्रधानमन्त्री ओलीको स्वतन्त्र र निष्पक्ष पत्रकारिताबारे दृष्टिकोण स्पष्ट पार्छ ।

यसलाई दुई पक्षबाट हेरिनुपर्छ— पहिलो, प्रेस संगठन नेपालको कार्यक्रम आफै राजनीतिक रङ्गयुक्त छ र त्यसमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीनिकट समूहका पत्रकारको आयोजना थियो ।

सिद्धान्ततः यहीँ नेपाली पत्रकारिता चुकेको छ । प्रेस संगठन नेपाल नाम दिएर सम्पूर्ण पत्रकारको हकहितमा लाग्नुपर्ने व्यावसायिक दायित्वभन्दा राजनीतिक दलको छत्रछायाँ लिएर पार्टीभित्रको एक गुटको पक्षपोषण गर्नु व्यावसायिक पत्रकारितामाथि आघात हो ।

व्यावसायिक पत्रकार भनेको स्वतन्त्र र निष्पक्ष हुनुपर्छ, कुनै राजनीतिक दलको ओहदायुक्त कार्यकर्ता होइन । कि त पत्रकार हुनुपर्छ, कि कार्यकर्ता हुनुपर्छ – दुवै काम एकैपटक व्यावसायिक दृष्टिकोणले सम्भवै हुँदैन ।

अर्को पक्ष, लामो संघर्षपछि प्राप्त गणतान्त्रिक व्यवस्थामा प्रधानमन्त्रीजस्तो सम्माननीय ओहदामा पुगेको व्यक्तिले राज्यको चौथो अङ्ग मानिने मिडियालाई प्रोपोगान्डाको साधन बनाउनु हुँदैन ।

गुटगत राजनीतिमा साथ दिन उकास्नुले नेतृत्व तहमा मिडियाको कस्तो धारणा छ भन्ने देखाउनु यस लेखको ध्येय हो

नेकपाको आन्तरिक शक्ति खिँचातानीका कारण अलग्गिएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको समूहनिकट पत्रकारलाई ‘पीत पत्रकारिता’ गर्न नहुने सिकाउनसक्ने प्रधानमन्त्रीले आफ्नो पक्षमा समाचार लेख्न उक्साउनुलाई व्यावसायिक धर्म देखेका रहेछन् ।

राजतन्त्रकालमा जस्तै मिडियाले आफ्नो पक्षमा लेखोस् भन्ने ‘स्वार्थ’ प्रधानमन्त्री स्वयंको पनि रहेको स्पष्ट देखिएको छ, अनि आफ्ना विरोधीको त्यस्तै ‘स्वार्थ’मा समाचार लेख्ने पत्रकारलाई ‘नर्क पर्छ’ भन्नेजस्ता अभिव्यक्तिले स्वतन्त्र र निष्पक्ष मिडियाको मजाक बनाएको छ ।

यस लेखको उद्देश्य प्रधानमन्त्री ओलीको विरोध गरी प्रचण्ड–नेपाल समूहको पक्षपोषण गर्नु कदापि होइन । देशको प्रधानमन्त्रीजस्तो गरिमामय पदमा बसेका व्यक्तिले मिडियालाई आफ्नै खल्तीको वस्तुको दृष्टिले हेर्नु र व्यावसायिक सिद्धान्तविपरीत पार्टीको, अझ गुटगत राजनीतिमा साथ दिन उकास्नुले नेतृत्व तहमा मिडियाको कस्तो धारणा छ भन्ने देखाउनु यस लेखको ध्येय हो ।

काठमाडौँमा प्रधानमन्त्री ओलीविरुद्ध आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले पनि पत्रकारहरू सबै सरकारको कदमविरुद्ध छन् भन्ने अभिव्यक्ति दिए ।

जसरी विरोध सभामा जम्मा भएका वा गरिएका मात्र उनका लागि ‘विशाल जनसागर’ वा जनता थिए, त्यसरी नै उनको राजनीतिक कदमलाई सहयोग हुने गरी प्रधानमन्त्री ओलीविरुद्ध लेख्ने मात्र उनका लागि पत्रकार भएको उनको भाषणबाट अर्थ लाग्छ ।

अनि तिनै पत्रकारहरूलाई उनले पहिले शान्ति सम्झौता, गणतन्त्रका लागि खेलेको भूमिकाझैँ पुनः आफ्ना लागि र प्रधानमन्त्री ओलीको विरुद्ध उभिन आह्वान गरे । नेकपाका ओली र प्रचण्ड पक्ष दुवैले यसरी पत्रकारहरूलाई आ–आफ्ना पक्षमा र एक–अर्काको विरुद्धमा उभिन आह्वान व्यावसायिक, निष्पक्ष र स्वतन्त्र मिडियामाथि भद्दा मजाक हो ।

यसले अन्ततः सिंगो पत्रकारिता जगत् र लोकतान्त्रिक मूल्यमान्यतामाथि नै आघात गरेको छ ।

न्यायालय जति स्वतन्त्र र निष्पक्ष हुन्छ वा हुनुपर्छ, त्यत्तिकै स्वतन्त्र र निष्पक्ष मिडिया पनि हुनुपर्छ — यही लोकतन्त्रको आदर्श मूल्यमान्यता हो ।

अर्कोतर्फ, नेपाली कांग्रेसको नेतृत्वमा रहेका सभापति शेरबहादुर देउवाले पनि काठमाडौँको एक कार्यक्रममा आफूविरुद्धको आवाज दबाउन खोजेको उदाहरण गत साता देखिएको छ । आफूलाई लोकतान्त्रिक भनी चिनाउने नेपाली कांग्रेसको नेतृत्वमा रहेका देउवाले गत साताको शनिबार एक कार्यक्रमबीच ‘तानाशाह’ प्रवृत्ति प्रदर्शन गरे ।

अदालतमा विचाराधीन विषयमा अदालतलाई दबाब दिन नहुने र अदालतभन्दा शक्तिशाली रहेको जनतामा जानुपर्ने भन्ने अभिव्यक्ति दिँदा एक महिलाले चिच्याएकी थिइन्, “जनतमा गए पनि जितिँदैन ... देशका लागि सोचौँ ।” मञ्चबाटै देउवाले ती महिलालाई हटाउन प्रहरीलाई ईशारा गरे ।

त्यसको केही पछि “तपाईँ नबोल्नुस्” भन्दै ती महिलालाई हटाउन प्रहरी अघि सरेपछि अर्का व्यक्ति पनि कराए र उनीमाथि पनि देउवा जंगिए, “तपाईँहरूले दोहोरो कुरा गर्ने होइन !”

यस्तो घटना शेरबहादुर देउवाका लागि नौलो होइन । धेरैअघि एक टेलिभिजन कार्यक्रममै पनि दर्शकको प्रश्नबाट रुष्ट भई देउवाले यसरी आफूविरुद्ध आवाज दबाउन अशोभनीय हर्कत गरेका थिए ।

लोकतान्त्रिक मान्यताबमोजिम सबैलाई आफ्नो कुरा राख्न पाउन अधिकार हुन्छ, तर पुरानै प्रणालीकै व्यवहार सिकेर आएका हाम्रा गणतान्त्रिक व्यवस्थाको नेतृत्वले अझै पनि आफूविरुद्धको आवाज सहज स्वीकार गर्न सकेको छैन ।

गणतन्त्र प्राप्तिको यत्रो वर्ष भइसक्दा पनि वाक् स्वतन्त्रताको आधारभूत मानवअधिकारको सम्मान गर्न नसक्ने, आफूविरुद्धको आवाजलाई बलजफ्ती वा घुमाउरो रूपमा दबाउन खोजेको छ । यस्तो अवस्थामा कहाँबाट निष्पक्ष र स्वतन्त्र विचार निर्माण हुन सक्छ त ?

यी सबै उदाहरणहरूले एउटै पाठ सिकाएको छ— हाम्रो नेतृत्व तहले लोकतान्त्रिक मान्यताबमोजिम स्वतन्त्र र निष्पक्ष मिडियालाई बुझेन र अझै पनि मिडियालाई शक्तिकै भक्तिगानको साधनका रूपमा हेर्दै छ । वाक् स्वतन्त्रताभन्दा प्रशस्तिमै रमाउन खोज्ने प्रवृत्ति अझै नेतृत्व तहमा छ ।

नेपाली पत्रकारिता क्षेत्र आफै व्यावसायिक हुन नसकेको हाम्रा आफ्नै कमीकमजोरीहरू पनि यथेष्ट छन्, त्यसतर्फ अघि बढ्नका लागि चुनौतीहरू पनि प्रशस्त छन् र त्यसैले पनि राजनीतिक नेतृत्वले मिडिया एवं वाक् स्वतन्त्रतामाथि नियन्त्रण लिन खोजेको छ ।

यस्तो शक्ति सञ्चय गर्न खोज्ने र समालोचनात्मक आवाज सुन्न नसक्ने वा नचाहने नेतृत्व तहलाई सुधार गर्न झन् व्यावसायिक पत्रकारिता, निष्पक्ष मिडिया र वाक् स्वतन्त्रताको आवश्यकता छ ।

Categorized in विचार