लामिछानेलाई काठमाडौं ल्याइयो
SamacharDesk | २०८१ मङ्सिर १४, शुक्रबार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिजो काठमाडौं ल्याइएको छ ।
सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा राखिएका लामिछानेलाई हिजो बुद्ध एयरको विमानबाट काठमाडौं ल्याई भद्रकालिस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।
काठमाडौं, कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगीबारे अनुसन्धान गर्न लामिछानेलाई काठमाडौं ल्याइएको हो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर हिनामिना गरेको आरोपमा गत कात्तिक २ गते पक्राउ गरिएका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनाको आरोपमा बयान लिन भैरहवा समेत लगिएको थियो । काठमाडौंमा बयान लिइएपछि लामिछानेलाई पुनः पोखरा नै फर्काइने प्रहरीले जनाएको छ ।
चितवनको सहारा सहकारीको रकम समेत हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले समेत लामिछानेसहित १० जना विरुद्ध पक्राउ पूर्जी जारी गरिसकेकाले काठमाडौंपछि बयानका लागि चितवन लैजाने पनि प्रहरीले जनाएको छ ।
विभिन्न सहकारीहरुको रकम ग्यालेक्सी टेलिभिजन चलाउने गोर्खा मिडियामा लगेर हिनामिना गरेको आरोपका मूख्य अभियुक्त जीबी राइलाई भने अझैसम्म पक्राउ गरिएको छैन ।
सो सहकारीको रकम अपचलनबारे पूर्वडीआईजी छविलाल जोशीसँग भने प्रहरीले बयान लिइसकेको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राई हुन् ।
रकम अपचलनबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
२७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।
Categorized in राष्ट्रिय