arin enterprises

आदिवासी मातृभाषी चलचित्र प्रवर्ध्दन समितिमा राई

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ ५, शुक्रबार

चलचित्र बिकाश बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्ध्दन समिति’को संयोजकमा निर्माता ज्योती राज राई नियुक्त भएका छन् ।

आदिवासी जनजाति चलचित्र महासंघको सिफारीसमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई समितिको संयोजक नियुक्त गरेको हो । बोर्डले राईको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको हो ।

समितिको संयोजक नियुक्त भएसँगै राईले विभिन्न मातृभाषी चलचित्रको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार बिस्तार गर्न, नितिगत रुपमा समेत सक्षम बनाउन आफुले भूमिका खेल्ने बताए ।

राईले यसअघि पनि समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरेका थिए । हाल राई आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ का अध्यक्ष र नेपाल चलचित्र निर्माता संघका कोषाध्यक्ष समेत हुन् ।

संगम, त्रिबेणी, पापी मान्छे, वान वे, दुई थोपा आँसु, साइनो कस्तो कस्तो, माई बेष्ट फ्रेण्ड, डामाडोललगायतका चलचित्र निर्माण गरेका छन् । केही दिन अघि मात्र प्रदर्शन भएको ‘लुङ्गा’ उनको पछिल्लो चलचित्र हो ।

समितिको सदस्यमा अमर लामा, रविन गुरुङ, विकास मगर, लक्ष्मी योङ्गहाङ, सगिना सुनुवार, अमृतामाया माझी रहेका छन । हरिसिंह रैखोला समितिको सदस्य सचिव रहेका छन् ।

महासंघमा आवद्ध सातै प्रदेशका चलचित्र सम्वद्ध बिभिन्न १६ जातीय संस्थाबाट सिफारिस भएका बिभिन्न ब्यक्ति मध्येबाट महासंघले बिकास बोर्डलाई एक ब्यक्ति संयोजकका रुपमा र अरु सदस्यका पदका लागि सिफरिस गर्ने गरिन्छ । सोही अनुसार बोर्डले संयोजक नियुक्त गर्ने प्रावधान छ ।

Categorized in पेजथ्री