अविरल वर्षाले उपत्यकाका नदीको सतह बढ्यो
SamacharDesk | २०८१ आषाढ २३, शनिबार

रातिदेखि परेको अविरल वर्षाले उपत्यकाको खोलाको बहाब बढेको छ।
उपत्यकाको बागमती, मनोहरा र हनुमन्ते लगायत खोलामा पानीको बहाब बढेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेका कारण देशका धेरै स्थानमा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
बागमती, गण्डकी, लुम्बिनीलगायत सबै प्रदेशमा साधारणदेखि मध्यम वर्षा भइरहेको छ । केही स्थानमा भने भारी वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने पनि महाशाखाले जनाएको छ ।
सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भारी वर्षा हुँदा हुन सक्ने जोखिमबाट जोगिन सतर्कता अपनाउन महाशाखाले आग्रह पनि गरेको छ ।
अविरलको बर्षाले पोखरा छिर्ने सबै सडकहरू अवरुद्ध भएका छन् । पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग सहित गण्डकीका प्रमुख ६ वटा सडकमा पहिरो झरेको छ ।
यस्तै, सिद्धार्थ राजमार्गको वालिङ नगरपालिका ८ स्थित शान्ति, वडा नम्बर १० को मोदीखोला, गल्याङ ८ को चिउरी र गल्याङ ११ को मुडकिल्लामा पहिरो झरेको छ ।
यस्तै, बेनी जोमसोम सडकको रघुगंगा ३ बैसरीमा लेदो सहित पहिरो आएको छ । बेनी दरबाङ सडक खण्डको बेनी ४ घुमाउने भीरमा पहिरो आएको छ ।
सबै सडकमा प्रहरी खटाएर पहिरो पन्छाउने काम भइरहेको गण्डकी प्रहरीले जनाएको छ । यता पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ ।
Categorized in राष्ट्रिय