राजमति कुमतिको लेडिज भर्सन सार्वजनिक हुँदै
SamacharDesk – बिकाश | २०७७ कार्तिक ११, मंगलबार

नेपालभाषाको लोकगीत ‘राजमति कुमति’ नसुन्ने नेवारमात्र होइन, नेपाली नै शायदै कोही होला । सयौं वर्ष पुरानो यो लोकगीत प्राय पुरानोदेखि नयाँ पुस्तासम्म सबैले सुनेकै छ ।
यो गीतलाई त कैयनले नेपालको पहिला राष्ट्रिय गीत समेत भन्ने गरेका छन् । जंगबहादुर राणा बेलायत जाँदा नेपालको प्रतिनिधित्व गर्ने कुनै पनि राष्ट्रिय धुन नभएको हुँदा यहि राजमति कुमति गीतलाई नेपालको राष्ट्रिय धुनको रुपमा प्रस्तुत गर्न लगाएका थिए ।
सबैको मुखमुखमा झुन्डिएर समाजमा बाँचिरहेको यो गीतलाई पहिलो पटक स्टुडियोमा रेकर्डिङ भने भोटाहितिका सेतुरामले गरेका थिए । समयको विभिन्न कालखण्डमा यो गीतलाई धेरै तरीकाले धेरैले गाए, रेकर्डिङ गरे तर राजमति कुमति भन्दै गाउने पुरुष मात्रै भए ।
एक पुरुषले आफ्नी प्रेमिकाको बयान गर्दै गाइएको यो गीत महिलाले भने गाउनै नमिल्ने भयो । तर अब यो गीतलाई महिलाले पनि गाएकि छिन् ।
गायिका अगिना तण्डुकार शाहीले ‘राजमति कुमति’ को फिमेल भर्सन गाएर रेकर्डिङ मात्र गरेकि छैनन्, यसको म्यूजिक भिडियोको सुटिङ समेत सम्पन्न भएको छ ।
राजमति कुमति गीतको यस फिमेल भर्सनको रचनाको साथै म्यूजिक भिडियाको निर्देशन निर्देशक पवन जोशीले गरेका छन् भने संगीत संयोजन अनिल तुलाधरको रहेको छ ।
राजेश शाक्यले छायाङ्कनको साथमा दृश्य सम्पादन गरेको म्यूजिक भिडियोमा मोडलको रुपमा गायिका अगिना तण्डुकारको साथमा रोशन शाक्य अनि रचनाकार र म्यूजिक भिडियोका निर्देशक पवन जोशीकै नातीनी दृष्टि शाक्यले अभिनय गरेका छन् । दृष्टिले यसै म्यूजिक भिडियोबाट डेब्यु गर्न लागेकी हुन् ।
साथमा सहायक भूमिकामा श्रृना शाक्य, नसला महर्जन र सृष्टि जोशीले पनि अभिनय गरेका छन् ।
यस गीतको अडियो भने सामाजिक संजालमा सार्वजनिक भइसकेको छ । यस अडियोले एकैदिनमा १७ हजार भ्यूज पाएको थियो ।
म्यूजिक भिडियो हाइलाईट्स नेपालको युट्युब च्यानलबाट केही दिनमै सार्वजनिक हुने जानकारी निर्माता बि.आर. जोशीले दिनुभयो ।
Categorized in पेजथ्री