arin enterprises

'पंचाभिषेक रुद्री समापनमा सबैको सहयोगको अपेक्षा छ'

SamacharDesk – संजय शर्मा राजाेपाध्याय | २०७९ श्रावण २२, आइतबार

राजोपाध्याय समाज नेवार समुदाय भित्र गुरु पुरोहितको रुपमा परिचित ब्राह्मणहरुको समाज हो । यो समाजको मूल उद्देश्य भनेको नेबार समाजमा सनातनी अथवा भनौं हिन्दुहरुको जन्मदेखि मृत्युसम्मको संस्कार गराउने र धर्म संस्कृतिको संरक्षण गर्ने रहेको छ ।

त्यहि उद्देश्यलाई आत्मसाथ गर्दै, अवलम्बन गर्दै यस समाजले बेलाबखत बिभिन्न धार्मिक कार्यहरुको आयोजना गर्दै आइरहेको छ ।

यसै क्रममा वर्तमान परिवेशमा संसारभरि कोरोना महामारीको अवस्था छ । महामारीको कहर ब्याप्त भइरहेको बेला विभिन्न क्षेत्रमा कार्यरत पेशाकर्मीहरु अग्रपंक्तिमा खटेर सेवा पुर्‍याइरहेका छन् ।

सर्वप्रथम त महामारीको सुरुको अवस्थादेखि लिएर अहिलेसम्म पनि जोखिम मोलेर स्वास्थ्यकर्मीहरु प्रत्यक्ष संक्रमितकै सम्पर्कमा रहेर स्वस्थ समाज निर्माणका लागि खटिरहेका छन् ।

साथमा सूचना र आवश्यक जाकनकारीहरु सम्प्रेषण गर्दै संचारकर्मीहरु पनि योगदान पुर्‍याइरहेका छन् ।

साथमा राजोपाध्याय व्राम्हणहरुले पनि विभिन्न संस्कारहरु सुरक्षित रहँदै सम्पन्न गर्न मार्गदर्शनदेखि लिएर आवश्यक प्रशिक्षण दिने काम पनि गर्दै नै आइरहेका छन् ।

यसको साथै राजोपाध्याय ब्राह्मणको कर्म भनेकै धार्मिक मार्गलाई पछ्याउँदै समाज कल्याणको कामना गर्नु नै हो ।

आफ्नो यहि धर्मलाई निरन्तरता दिँदै महामारीको चरम अवस्था, कोरोना संक्रमण निकै फैलिरहेको समयमा काठमाडौं उपत्यकाको तीनै शहरका शिवालयहरुमा प्रत्येक शहरमा पाँच/पाँच जना ब्राह्मणहरुबाट पञ्चाभिषेक रूद्री कार्यक्रम शुरु गरेको थियो ।

एक वर्षसम्म संचालन गर्ने योजनासहित उपत्यकाको तीनै सहरमा एकै दिन एकै समयमा २०७८ श्रावण १२ शनिवारबाट यो पंचाभिषेक रूद्री कार्यक्रम शुरु गरिएको थियो भने गत असार ११ गतेका दिन १२ औं पटकको कार्यक्रम पनि सम्पन्न गरिसकेको छ ।

१२ औं पटकको पंचाभिषेक रूद्री सम्पन्न गरेपछि अब यसको साङ्गे अथवा भनौं औपचारिक समापन आउँदो श्रावण २४ गते मंगलबारका दिन एक भव्य धार्मिक अनुष्ठानका बीच गर्न लागेका छौं ।

सो दिन ११ जना राजोपाध्याय ब्राम्हणहरुबाट लघु रुद्री, नौ जना देव ब्राह्मणहरुबाट नवचण्डी तथा शिव पंचाङ्गको साथै अयुताहुति यज्ञ र १०८ कलश यात्रा गर्ने योजना रहेको छ ।

दुध, मह, सख्खर, घ्यू र पानी, यी पाँच प्रकारको बस्तुले रुद्री गर्ने भएकोले पनि यो रुद्री बिशेष हुनेछ । नवचण्डी, शिव पञ्चाङ्ग र १० हजार संख्याकाे अयुताहुति यज्ञले यस कार्यक्रमलाई अझ विशेष बनाउनेछ ।

विहान ८ बजे कलश यात्राबाट कार्यक्रम शुरु गर्दै अयुताहुति यज्ञ, लघुरूद्री पाठ, नवचण्डी, शिव पञ्चाङ्ग पाठहरु गर्दै कार्यक्रम सम्पन्न गरिनेछ ।

सम्पूर्ण लोकको कल्याण होस्, कोरोना भाईरस निर्मूल होस्, कोरोना महामारीबाट संसारले मुक्ति पाओस् भन्ने कामनासहित यो भव्य धार्मिक अनुष्ठान गर्न लागिएको हो । यस धार्मिक कार्यमा श्रद्धा, भक्तिभावका साथ जो कोही पनि सहभागी हुन सक्नेछन् ।

यस अनुष्ठानमा स्थापना गरिने शुभ कलश आफ्नो घरमा लगेर पूजा कोठामा स्थापना गर्न सक्नुहुनेछ । साथमा कार्यक्रमको दिनमा सो कलशलाई आफैंले बोकेर कलश यात्रामा सहभागी हुन सक्नुहुनेछ ।

साथमा आयोजकलाई सम्पर्क गरेर यस अनुष्ठानमा राखिने रुद्राक्ष माला पनि प्राप्त गर्नुसक्नुहुनेछ । आफ्नो ग्रह दशा शान्ति आदिको लागि पनि सम्पर्क गर्न आग्रह गर्दछु ।

यस किसिमको भव्य धार्मिक अनुष्ठानको आयोजना गर्न आर्थिक पक्ष पनि ठुलै संख्यामा आवश्यक पर्छ भन्ने त जो कोहीले पनि अनुमान लगाउन सक्नुहुन्छ । त्यसको लागि आफ्नो इच्छा अनुसार आर्थिक रुपमा सहयोग पनि गर्न सकिनेछ ।

यसरी सहयोग गर्ने श्रद्धालु भक्तजनहरुलाई समाजबाट उचित सम्मान गर्ने योजना पनि रहेको छ ।

समाजले विभिन्न कार्यक्रमहरु आयोजना गरीसकेको छ । तर आउँदो २४ गते हुन गइरहेको यो कार्यक्रम भने समाजको दशक बढिको इतिहासमै सबैभन्दा ठुलो कार्यक्रम हुन गइरहेको छ ।

समाजको यस आयोजनामा कार्यका लागि स्थानीय महादेब मखन क्लबको ठूलो सहयोग हामीलाई प्राप्त भएको छ । महिन्द्रेश्वर मन्दिरका पूजारीहरुको सहयोग पनि हामीलाई सुरुदेखि प्राप्त भइरहेको नै छ । त्यसको लागि उहाँहरुलाई पनि धन्यवाद दिनैपर्छ ।

अब कार्यक्रम सम्पन्न गर्न केही दिन मात्र बाँकि छ । यहाँहरुको सबैको साथ, सहयोगबाट यो भव्य कार्यक्रम अझै भव्य बन्नेछ भन्ने विश्वास हामीले लिएका छौं ।

यस किसिमको धार्मिक अनुष्ठान विरलै हुने गर्दछ । कार्यक्रममा आउनुहोला, सहभागी हुनुहोला र पुण्य प्राप्त गर्नुहोला ।

(लेखक राजोपाध्याय समाजका केन्द्रीय अध्यक्ष हुनुहुन्छ)

Categorized in विचार