arin enterprises

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति रामचन्द्र पौडेल

SamacharDesk | २०७९ फाल्गुण २५, बिहिबार

नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत आठ दलीय गठबन्धनबाट उम्मेदवार बन्नु भएका पौडेल राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो ।

राष्ट्रपतिमा पौडेल र बिपक्षी दल नेकपा एमालेका तर्फबाट एमाले उपाध्यक्ष समेत रहनु भएका सुवास चन्द्र नेम्वाङ उम्मेदवार रहनु भएको थियो ।

बिहिबार नयाँ राष्ट्रपति चयनका लागि भएको मतदानमा पौडेल ३३ हजार ८०२ मत भार ल्याएर विजयी हुनुभएको हो । नेम्वाङको पक्षमा १५ हजार ५१८ मत परेको थियो ।

पौडेल र नेम्वाङबीचको मतभारको अन्तर १८ हजार २८४ रहेको छ । सरकार र पार्टी दुवैतर्फको पहिलो स्थान हासिल गर्न नसकेका पौडेल जीवनको उत्तराद्र्धमा राष्ट्राध्यक्ष पद प्राप्त गर्न सफल हुनुभएको छ ।

विसं. २००१ सालको असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मनुभएका पौडेल किशोर अवस्थामामै राजनीतिमा लाग्नुभयो ।

साढे छ दशकदेखि नेपाली राजनीतिमा अनवरत लागेका पौडेलले सर्वप्रथम कांग्रेसद्वारा सञ्चालित ०१८ को सशस्त्र क्रान्तिमा सक्रिय सहभागी हुनुभयो ।

यसैगरी ०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता बनेका पौडेल ०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित हुनुभयो ।

अझ ०२४ सालमा प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिव भएर प्रगतिको उचाई बढाउँदै लैजानुभयो । २०२७ सालमा स्थापना भएको कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघको संस्थापक सदस्य बन्ने श्रेय पौडेललाई प्राप्त भयो ।

त्यस्तै ०४० सालमा पौडेललाई कांग्रेसले केन्द्रीय प्रचार समितिको संयोजक बनायो । उहाँले पार्टीको मुखपत्र नेपाल पुकार सम्पादनको दायित्वसमेत निर्वाह गर्नुभयो । ०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेयता पौडेल निरन्तर केन्द्रीय राजनीतिमा सक्रिय हुनुहुन्छ ।

पञ्चायतको अन्त्य भई ०४६ सालमा प्रजातन्त्रको पुनस्थापनापछि पौडेल ०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद सदस्यमा निर्वाचित हुनुभयो । त्यसपछि बनेको सरकारमा स्थानीय विकास, ०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बन्नुभयो ।

०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भएपछि ०५१ सालको प्रतिनिधिसभामा सभामुख हुनुभयो । रामचन्द्र ०५६ सालमा तनहुँ २ बाट संसद सदस्यमा तेस्रो पटक निर्वाचित भएलगत्तै ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082