रामजानकी विवाह गरिंदै
SamacharDesk | २०८० पौष १, आइतबार

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज राम जानकीको वैवाहिक कार्यक्रमको आयोजना गरिदै छ ।
यसका लागि जानकी मन्दिरको प्रांगण सजाइएको छ । त्रेता युगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो ।
गोस्वामी तुलसीदासको रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।
त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे ।
शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको जनविश्वास रहिआएको छ ।
विवाहपूर्व आज जानकी मंदिरबाट निस्किने माता सीताको डोला अर्थात बेहुली पक्षको टोली र राम मन्दिरबाट निस्कने भगवान रामको डोला अर्थात बेहुला पक्षको टोली जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान १२ बिघामा पुगेर मिलन हुने गर्छ ।
रंङ भूमि मैदानमा दुबै पक्षको डोला पुगेपछि लाखौंको संख्यामा उपस्थित तिर्थालुहरुको बीच मिथिला परम्परा अनुसार स्वयम्बर हुने गर्दछ । सो स्वयंभर कार्यक्रमको अवलोकन गर्न नेपाल तथा भारतबाट आएको तिर्थालुहरुको उल्लेख्य संख्यामा उपस्थिति हुने गर्दछ ।
स्वयम्बर कार्यक्रमको समापन भए पश्चात रंङभूमि मैदानबाट दुबै मंदिरको डोला सहित संयुक्त रुपमा निस्कने शोभा यात्रा नगरको बिभिन्न भागको परिक्रमा गरि जानकी मंदिरको प्रांङण पुग्ने गर्दछ ।
जानकी मन्दिरकै प्राङणमा भारतको अयोध्याबाट जन्तिका रुपमा आएका साधु सन्तको उपस्थितिमा भगवान राम र माता सीताको विवाह सम्पन्न हुने गर्दछ ।
मिथिलाको विधि विधान अनुसार अबेर राति सम्म चल्ने यस वैवाहिक कार्यक्रमको अवलोकन गर्न मन्दिरको प्रांङणमा हजारौको संख्यामा तिर्थालुहरुको उपस्थिति रह्ने गर्दछ ।
पछिल्लो बर्षको तुलनामा यस बर्ष दर्शनार्थीहरुको संख्या उल्लेख्य मात्रामा बृद्धि हुने विश्वास जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले लिएका छन् ।
रामजानकी विवाहका लागि जनकपुरधाममा लाखौँ दर्शनार्थीहरुको घुइचो लागेको छ ।
Categorized in संस्कृति