आज भगवान श्रीरामको जन्मजयन्ती
SamacharDesk – Ram Dangol | २०८१ बैशाख ५, बुधबार

मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्म दिनको रुपमा आज रामनवमी हर्षाेल्लासपूर्वक मनाईंदैछ ।
हिन्दूधर्मावलम्बीहरु आज भगवान श्रीरामको श्रद्धा तथा भक्तिपूर्वक पूजा आराधना गरी यो पर्व मनाइदैछ । हरेक वर्ष चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ ।
आजको दिन देश तथा विदेशमा रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरुमा स्नान ध्यान गरी व्रत बसी रामगीता पाठ, अध्यात्म वाल्मिकी र तुलसीकृत रामायण वाचन गर्नुका साथै भगवान रामको पूजाआराधना गरी रातभरी भजनकीर्तन र जाग्राम बस्ने परम्परा रहिआएको छ ।
त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा भगवान विष्णुको सातौँ अवतारको रुपमा जन्मेको धर्मग्रन्थहरुमा उल्लेख भएको पाइन्छ ।
असूर र अत्याचारी रावणमाथि विजय प्राप्त गरी असत्यमाथि सत्यको विजयको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ ।
आफ्नो पिताको कठोर आज्ञाको सहजतापूर्वक पालन गरी मानव जातिलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएकाले रामको सम्झनमा रामनवमी पर्व मनाइँदै आएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने धार्मिक विश्वास रहेको छ ।
यसै अवसरमा काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिर, पशुपति आर्यघाटमा रहेको राममन्दिर, गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको राम मन्दिर, जैसिदेवलस्थित राम मन्दिर लगायत देशभरका विभिन्न स्थानमा रहेका राम मन्दिरमा ठूलो मेला लागेको छ ।
जैसिदेवलस्थित राममन्दिरमा भने श्रीरामको चरित्र चित्रण हुने खालका तस्विरहरु प्रदर्शनीमा राख्ने गरिन्छ । जसमा श्रीराम भगवानको वाल्यवस्थादेखि युवावस्था, माता सीतासँगको विवाह उत्सव, १४ वर्ष वनबास गएको, बनवासका क्रममा रावणले सीता हरण गरेको र लंकामा युद्ध गरी माता सीतालाई फर्काएको आदिसम्मका सम्पूर्ण रामायण ग्रन्थका तस्वीरहरु प्रदर्शन गर्ने गर्दछ ।
यसैबीच, जनकपुरमा राम नवमीको अवसरमा जानकी मन्दिरमा विहानैदेखि दर्शनार्थीको भीड लागेको छ । यो दिन जनकपुरको प्रसिद्ध दूधमति नदीमा नुहाई रामजानकी मन्दिरमा पूजापाठ गर्दा मनोकांक्षा प्राप्त हुने जनविश्वास छ ।
जनकपुरको रामजानकी मन्दिरसहितका मठमन्दिरहरुमा श्रद्धालु भक्तजनले पवित्र सरोबर गंगा सागरमा स्नान गरी पूजा पाठ गरेका छन् । यस अवसरमा नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारतबाट पनि श्रद्धालु भक्तजन जनकपुर आएका छन् ।
Categorized in संस्कृति