बलात्कारीलाई कारबाही गर्न माग गर्दै विरोध प्रर्दशन
SamacharDesk | २०७९ जेठ ८, आइतबार

बलात्कारीलाई सजाय दे, दोषीलाई कारबाही गर, बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर, बलात्कार सम्बन्धि घटनाको न्याय निरुपणका लागि देखिएको हदम्याद खारेज गर जस्ता लेखिएको प्ले कार्ड प्रर्दशन गर्दै प्रर्दशनकारीहरुले हिजो काठमाडौंमा प्रदर्शन गरेका छन् ।
उनीहरुले बलात्कारमा परेका पीडितलाई न्याय दिलाउने काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराएका छन । एक युवतीले आठ वर्ष अघि सौन्दर्भ प्रतियोगिताको क्रममा आफूलाई आयोजक संस्थाले बोलाएर बलात्कार गरेको घटना सामाजिक सञ्जाल टिकटकमार्फत् सार्वजनिक गरेकी थिईन ।
उक्त युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार काठमाडौंमा प्रर्दशन गरिएको छ । ‘बलात्कारी होस तँ’ भन्दै काठमाडौंको माईतीघर मण्डलामा भेला भएका युवायुवतीहरुले सो घटनामा परेकी पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरेका हुन ।
बलात्कार घटनाका पीडित ती युवतीलाई न्याय दिलाउने कार्यमा सहयोग गर्न पनि सबैलाई अपिल गरिएको छ । त्यसको विरोधमा शुक्रबार पनि प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरिएको थियो भने संघीय संसद प्रतिनिधिसभाका सांसदहरुले पनि पीडित ती युवतीलाई न्याय दिन र दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका थिए ।
यसैबीच नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो । पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार तथा यौनशोषण गरेको आरोप लगाएकी छिन् ।
सामाजिक सञ्जाल हुँदै यो मुद्दा राष्ट्रिय चासो विषय बनेपछि प्रहरीले कारबाही अघि बढाएको हो । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समितिसमेत बनाएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् । समितिले शुक्रबारबाटै काम सुरु गरेको छ ।
Categorized in राष्ट्रिय