arin enterprises

भोटेकोशी बाढी अपडेटः अहिलेसम्ममा एक हजार २८० जनाको शव फेला

SamacharDesk – बिराज | २०८३ भाद्र १८, बिहिबार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार राति ८ः०० बजे सम्ममा एक हजार २८० जनाको शव फेला परेको छ ।

तीमध्ये सबैभन्दा बढि चितवनमा ३५९ जनाको शव फेला परेको छ । त्यस्तै, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिम १९०, नुवाकोटमा १८५, रसुवामा १४०, गोरखामा ७२, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव फेला परेको हो ।

त्यसैगरी भारतमा समेत १८ जनाको शव फेला परेको छ । भारतमा फेला परेकाको शव नवलपरासी पश्‍चिममा बुझाइएको छ ।

साथै घाइते भई उपचाररत रहेकामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । जसमध्ये एक जनाको टिचिङ अस्पताल र एक जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म २०८ महिला, ३३५ पुरूष र ३८३ नखुलेको गरी जम्मा ९२६ वटा शवको माटो मुनि व्यवस्थापन गरिएको छ ।

पहिचान नभएको एक हजार ६९ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

हालसम्म बेपत्ता भएका ४ हजार ७९८ जनाको खोजी कार्य भइरहेको छ ।

यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ६३१ जना व्यक्तिहरूलाई राखिएको छ ।

बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्यमा नेपाल प्रहरी, नेपाली सेना खटेको छ ।

Categorized in राष्ट्रिय