arin enterprises

रातो मच्छिन्द्रनाथको रथ जात्रा सम्पन्न

SamacharDesk – बिकाश | २०७७ भाद्र २१, आइतबार

कडा सुरक्षा घेराका बीच ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न भएको छ । 

ठुलो संख्याको प्रहरी र ललितपुरका १९ जातीय संस्थाको साथमा नेपालभाषा मंकाः खलः यलका स्वयम्सेवक समेतको सुरक्षा घेरा भित्र जात्रा गरिएको हो ।

कुनै प्रकारको नराम्रो घटना हुन नदिन र दर्शनार्थीको पनि भीड हुन नदिन भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

जात्रामा भीडभाड हुन नदिन भन्दै लतिलपुर प्रवेश गर्ने विभिन्न नाकाहरुमा समेत सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

नेपालकै ऐतिहासिक जात्रालाई अलपत्र बनाएको भन्दै आक्रोशित समूहले गत विहिबार रथ तान्न खोज्दा स्थिती तनावग्रस्त भई प्रहरी र समूहबीच झडपकै स्थिती बनेको थियो भने सो घटनामा संलग्न रहेको भन्दै केही व्यक्तिहरुलाई गिरफ्तार समेत गरिएको छ ।

सो घटनापछि नै आज रथ तान्ने निर्णय भई जात्राको प्रक्रिया अघि बढेको थियो ।

 

औपचारिकतामा सिमित हुँदै रथ तानियो

आज रथ रोकिएको स्थानमा पुल्चोकस्थित सोर्हखुट्ट पाटीसम्म रथ तानेर रथ जात्रा सम्पन्न गरिएको हो ।

सो क्रममा गाःबहालमा रोकिराखेको मीननाथको रथलाई पनि तानेर पुल्चोकमा पुर्याइएको थियो ।

रथ तानिने हो कि होइन भन्ने लामो समयको अन्यौलपछि आज रथ तानेर जात्रा गरिएको हो ।

रथ तानिएकोसँगै ललितपुरबासीले आज छ्वयलाभू पनि गरेका छन् । भोलि भुज्याः गरिनेछ भने भोलि नै रातो मच्छिन्द्रनाथलाई बुंगमतिमा प्रस्थान गराउने साइत निकालिनेछ ।

विगतका वर्षहरुमा जुन दिन जुन स्थानमा रथ पुर्याइन्छ सोही स्थानका बासिन्दाले छ्वयलाभू र भोलिपल्ट भुज्याः गरिन्थ्यो । तर यस वर्ष भने कोभिड संक्रमणका कारण एक दिन मात्रै रथ तानिएकोले आजै सम्पूर्ण ललितपुरवासीले छ्वयलाभू मनाएका हुन् ।

जात्रा व्यवस्थित बनाउन रथ तान्नको लागि र बाजा समूहको लागि व्यक्तिको संख्या नै तोकिएको थियो । 

जात्रामा संलग्न हुने सबैको लागि मास्क, पंजा, फेसशिल्ड, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षाका उपाय पनि अवलम्वन गरिएको थियो ।

Categorized in संस्कृति