सभापति लामिछाने पक्राउको विरोधमा प्रदर्शन जारी
SamacharDesk | २०८१ कार्तिक ५, सोमबार

सहकारी ठगीको आरोपमा पक्राउ परेका सभापति रवि लामिछाने पक्राउको विरोधमा उनका समर्थकहरुले आज पनि पोखरामा प्रदर्शन गर्ने भएको छ ।
दिउँसो १२ बजेपछि पोखराको पृथ्वीचोकमा प्रदर्शन गर्न लागिएको हो । रास्वपाले नेता कार्यकर्तालाई विरोध कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ ।
लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतले अझै तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलाशले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
तर म्याद थपको गणना गत शुक्रबारदेखि लागू हुने भएकाले लामिछानेलाई अझै तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति इजलाशले दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।
आइतबार सभापति लामिछानेलाई कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालमा सबैभन्दा ठूलो भ्रष्टाचारी प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाउनुभएको छ ।
आफूमाथि जस्तै प्रधानमन्त्री ओलीमाथि छानविन गर्ने हो भने सबैभन्दा ठूलो भ्रष्टाचारी ओली ठहरिने जिकीर गर्नुभयो । ओली प्रधानमन्त्री बन्नु देशका लागि दुर्भाग्य हो भन्दै लामिछानेले ओली सरकारबिरुद्ध देशभरबाट आन्दोलन उठाउन पनि आह्वान गर्नुभयो ।
सहकारीको रकम ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रवार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो । आइतबार अदालतमा पेश गर्ने क्रममा रास्वपाका कार्यकर्ता र प्रहरीबीच पोखरामा झडप समेत भएको थियो ।
कास्की जिल्ला प्रशासनले लगाएको निषेधित क्षेत्रको आदेश उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएकाहरुको प्रहरीसंग मुठभेड भएको थियो । प्रदर्शनकारीहरुले प्रधानमन्त्री ओली विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।
Categorized in राष्ट्रिय