भद्रकाली मन्दिर परिसरका संरचना पुनर्निर्माण सुरु
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०८१ आषाढ २९, शुक्रबार
भद्रकाली मन्दिर परिसरको दक्षिण पश्चिमबाट भवन पुनर्निर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जग पूजा तथा शिलान्यास गर्दै भवन पुनर्निर्माणको थालनी गरेकी छन् ।
शिलान्यासपछि बोल्दै उपप्रमुख डंगोलले भद्रकालीको प्राचीनता बचाएपछि सबैले गर्व गर्न लायक स्मारक हुने बताइन् ।
त्यस्तै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा ११, २१ र २२ का अध्यक्षहरु क्रमशः हीरालाल तण्डुकार, उदय चुडामणि बज्राचार्य र चिनीकाजी महर्जनले भद्रकाली धार्मिक आस्थासँग जोडिएको पीठका रुपमा सबैबाट स्वीकार भएको स्मारक भएको उल्लेख गरे ।
वडाध्यक्षत्रयले पुरातत्व विभाग र गुठी संस्थानलाई यसका अन्तरबस्तुमा चित्त नबुझेको केही भए महानगरपालिकामा आएर छलफल गर्न आग्रह गरे ।
भद्रकाली भौगोलिक रुपमा वडा नंं ११ मा पर्छ । यससँग सम्बन्धित जात्रा पर्व, संस्कार, संस्कृति तथा परम्परा वडा नं. २२ सहित भित्री वडासँग सम्बन्धित छन् ।
त्यसक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, गुठी संस्थान, लुँमधि भद्रकाली व्यवस्थापन समितिका पदाधिकारीले समेत जग पूजा गरेका थिए ।
२०७२ सालको भूकम्पको कम्पनले जीर्ण अवस्थामा रहेको भवनको जग राख्नुअगाडि लुँमधि भद्रकाली गुथिले शास्त्रीय विधिअनुसार पूजा सम्पन्न गरेको थियो ।
मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् ।
यसको पुननिर्माणको लागत अनुमान ३६ करोड रुपैयाँ हो । सम्पदा तथा पर्यटन विभागका वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालकाअनुसार ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ कवोल गर्ने तुल्सी अम्बुजा जेभीले पुनर्निर्माणको जिम्मा पाएको छ ।
भवनमा कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम र छानो झिँगटीको हुनेछ । पुनर्निर्माण हुने सबै भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुनेछ । यसको डिजाइन सहरी योजना आयोगले तयार पारेको हो ।
अहिलेको संरचना भत्काएपछि संकलन हुने निर्माणजन्य सामग्रीलाई पुरातत्व विभाग, गुठी संस्थान, लुँमधि भद्रकालीे व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्नेछ ।
गएको जेठ ३० गते काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘लुँमधि भद्रकाली मन्दिर परिसरका संरचनाहरुको पुनर्निर्माण सम्बन्धमा’ बैठक बसेर पुनर्निर्माणको काम दक्षिण पश्चिम भागबाट सुरु गर्ने निर्णय गरेको थियो ।
यही बैठकले पुननिर्माण हुने ठाउँहरु गुठी संस्थान र लुँमधि भद्रकाली व्यवस्थापन समितिले खाली गराउने निर्णय गरेको थियो ।
मन्दिर पुननिर्माणका लागि सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको संयोजकत्वमा सहजीकरण समिति गठन भएको छ ।
समितिको सदस्यहरुमा वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, सहरी योजना आयोगका सदस्य बाबुराम भट्टराई, लुँमधि भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर महर्जन, समितिका पूर्व अध्यक्ष गौतम डंगोल, पुरातत्व विभाग र गुठी संस्थानका प्रतिनिधि छन् ।
समितिको सदस्य सचिवमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई छन् ।
Categorized in स्थानीय