arin enterprises

पट्कोमा नित्यनाथको मन्दिर पुनर्निर्माण सम्पन्न

SamacharDesk – बिराज | २०८१ भाद्र २९, शनिबार

पाटनको पट्को टोलस्थित नासः चोकमा विराजमान नासःद्यः (नित्यनाथ) को मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ ।

मन्दिरको पुनर्निर्माण भएसँगै धार्मिक विधिविधान अनुसार पूजा, हवन गरी मन्दिरमा नित्यनाथको मूर्ति स्थापना पनि गरिएको छ ।

गत बिहिवार नासः चोकमा हवन गरेर प्राण प्रतिष्ठा गर्दै नासःद्यःको मूर्ति पुनर्स्थापना गरिएको हो ।

साथमा नित्यनाथको माथि हनुभैरव, नित्यनाथसँगै नन्दी र भृङ्गि, मन्दिरको पेटीमा पंचपाण्डव, सिद्धिलक्ष्मीको प्रतिकको रुपमा राखिएको मण्डपहरु पनि स्थापना गरिएको थियो ।

तत्कालीन समयमा श्रीनिवास मल्लले मंगलबजारमा भीमसेनको मन्दिर निर्माण गर्दा भीमसेनको मूर्तिको प्राण प्रतिष्ठा पूजा यसै नासः चोकमा भएको थियो ।

भीमसेनको प्राण प्रतिष्ठा यहिँ भएकोले नै यहाँ नित्यनाथसँगै पंचपाण्डवको प्रतिक मण्डप पनि राखिएको पाटन तलेजुका पूजारी र नासः चोकका स्थानीय वासिन्दा नीरन ज्वालानन्द राजोपाध्यायको भनाई छ ।

‘नामै नासः चोक भएकोले यहाँ नित्यनाथ वा नासःद्यः नै विराजमान रहेको प्रष्ट हुन्छ । मंगलबजारको भीमसेन मूर्तिको प्राण प्रतिष्ठा यहिँ गरिएपछि भीमसेनको साथमा पंच पाण्डवलाई यहाँ स्थापना गरी पूजा गर्ने गरेको देखिन्छ’ राजोपाध्यायले बताए ।

मन्दिर प्राय पुरानै सामग्री प्रयोग गरी पुनर्निर्माण गरिएको छ भने पूर्ण रुपमा क्षति भइसकेको स्थानमा भने नयाँ सामग्री प्रयोग गरिएको छ ।

यो मन्दिर जीर्ण अवस्थामा रहेको निकै समय भइसकेको थियो भने यहाँको नासःद्यःको मूर्ति पनि करीब ४० वर्ष अगाडी चोरी भएको थियो ।

अब मन्दिर पुनर्निर्माणको साथै नित्यनाथको नयाँ मूर्ति पनि स्थापना गरिएको हो ।

पटको टोल सुधार समितिको पहलमा दुई लाख रुपैयाँको लागतमा मन्दिर पुनर्निर्माण सम्पन्न भएको हो ।

मन्दिर पुनर्निर्माणको लागि ललितपुर महानगरपालिका १६ वडा कार्यालयबाट उपलब्ध भएको पटको टोल सुधार समितिका अध्यक्ष महेश्वर लाल ख्वःसिंले जानकारी दिए ।

हनुभैरवको साथमा रहेका नित्यनाथ र नन्दी, भृङ्गिको नयाँ मूर्ति भने २५ हजार रुपैयाँको लागतमा बनाइएको र यसको लागि पटको टोलका स्थानीय राजोपाध्याय देव ब्राह्मणहरुबाट प्राप्त भएको पनि अध्यक्ष ख्वःसिंले बताए ।

Categorized in संस्कृति