रातो मछिन्द्रनाथलाई रथारोहण गराइयो
SamacharDesk – शिवेश शर्मा | २०७७ श्रावण १०, शनिबार

विवाद र विभिन्न चर्चा परिचर्चाका बीच आज वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई पूल्चोकमा रथारोहण गराइएको छ ।
आज मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएसँगै मछिन्द्रनाथको रथजात्रा औपचारिक रुपमा सुरु भएको छ ।
रथमा विराजमान गराइएपनि रथ तान्ने दिन भने हालसम्म अनिश्चित नै छ ।
विगतका वर्षहरुमा रथमा विराजमान गराइएको चौथो दिनमा रथ तान्ने गरिन्थ्यो भने यस वर्ष कोरोना महामारीका कारण रथ जात्रा अनिश्चित रहेको हो ।
यस वर्ष महामारीकै कारण पटक पटक रथारोहणको साइत निकाल्ने र स्थगित गर्ने गरिँदा समुदायमा निकै विवाद बढेको थियो ।
यसअघि मंगलबजारको मणिमण्डप पाटीमा ज्योतिषहरु बसेर असार २४ गतेको साइत निकालेका थिए । कोरोनाको संक्रमण बढ्दै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले सो दिन रथारोहणको कुनै पनि कार्य नगर्न सुचना गरेर स्थगित गरेको थियो ।
फेरी गुठी संस्थानले साउन १० गते, दिउँसोको १२ः०५ देखि १२ः२५ सम्मको साइत सार्वजनिक गर्यो भने त्यसको भोलिपल्ट पुनः जिप्रका ललितपुरले स्वीकृती नदिएको भन्दै रथारोहण स्थगित भएको अर्को सूचना सार्वजनिक गर्यो ।
यसपछि भने गुठी संस्थान र जिल्ला प्रशासन कार्यालय ललितपुरको निकै विरोध भएको थियो ।
स्थानीय वासिन्दा, सामाजिक अभियन्ता, पूजारी पानेजू लगायत सरोकारवालाहरुले ललितपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय ललितपुरसँग छलफल गर्दै सामाजिक दुरी लगायतका सावधानी अपनाई रथारोहण गर्ने सहमति भए अनुसार आज रथारोहण गरिएको हो ।
नियमानुसार गत बैशाख १२ गते रथारोहण र १५ गते रथयात्रा हुनुपर्ने रथजात्रामा कोरोनाभाइस संक्रमणको खतरा र देशव्यापी बन्दाबन्दीका कारण त्यो बेला जात्रा हुन पाएको थिएन ।
देखिएन सामाजिक दुरी
भौतिक दुरी, मास्क, पञ्जा लगायतका सुरक्षाका उपाय अपनाएर रथारोहण गर्ने भनिएपनि यसतर्फ खासै पहल भने देखिएन ।
रथारोहणको लागि आवश्यक व्यक्तिहरु भौतिक दूरी कायम गरी सबैले मास्क, पन्जा, सेनिटाइजर लगाई आउन र अन्यलाई अनावश्यक भीडभाड हुन नदिन घरमै बसेर जात्रा हेर्न अनुरोध गरिएको थियो ।
देवतालाई तःबहालबाट निकाल्न लाग्दा खासै हूल पनि थिएन । तर जब मछिन्द्रनाथलाई खटमा राखेर तःबहालबाट बाहिर निकालियो त्यसपछि भने मानिसहरुको घुइँचो बढ्न थाल्यो ।पूल्चोक पुगिसकेपछि त ठुलै भीड जम्मा भइसकेको थियो ।
त्यहाँको वातावरण हेर्दा कसैमा संक्रमणको डर वा सावधानी अपनाउनेतर्फ कसैले ध्यान दिएको पनि देखिँदैन थियो । न त मुखमा मास्क थियो न त हातमा पन्जा । न त भौतिक दूरी नै कायम गरिएको थियो ।
विगत चार महिनादेखि सबै सामाजिक गतिविधि बन्द भएको, सबै जात्राहरु रोकिएको अवस्थामा आजको रथारोहण हेर्नको लागि त उपत्यकाका तीनवटै शहरबाट मानिसहरु भेला भएका थिए ।
रथारोहणमै यस्तो भीड हुने हो भने रथ तान्ने समयमा झनै भीड बढ्ने सम्भावना बढि छ । यसतर्फ व्यवस्थापन समूह, सरोकारवाला पक्ष साथै स्थानीय सरकार र प्रशासनले समेत ध्यान दिनु आवश्यक देखिन्थ्यो ।
भारतमा जगन्नाथको जात्रा कर्फ्यू लगाएर नै गरिएको सन्दर्भलाई सम्झिनु समय सान्दर्भिक होला ।
