प्रहरी महानिरीक्षक क्षेत्रीबाट अध्ययन प्रतिवेदन सार्वजनिक
SamacharDesk – बिकाश | २०७७ कार्तिक ६, बिहिबार

नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार तथा जवानहरुको मनोबलको वर्तमान अवस्था, कारक तत्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरु सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ ।
प्रहरी प्रधान कार्यालयमा आज एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उक्त प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।
सो अवसरमा प्रहरी महानिरीक्षक क्षेत्रीले यस अध्ययन प्रतिवेदनबाट आएका निष्कर्षहरुले आउने दिनमा मातहत कर्मचारीहरुलाई कसरी सम्बोधन गर्ने भन्ने स्पष्ट दिशा प्रदान गरेको चर्चा गर्नुभयो ।
आन्तरिक व्यवस्थापनले मातहत कर्मचारीहरुको मनोबलमा वृद्धि गर्न सकिने अध्ययन प्रतिवेदनबाट देखिएको बताउँदै प्रहरी महानिरीक्षक क्षेत्रीले प्रतिवेदनबाट आएका निष्कर्षबाट कार्ययोजना तयार पारी त्यसलाई अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।
यस सम्बन्धी विगतमा थुप्रै अनुसन्धानका कार्यहरु भएको उल्लेख गर्दै अब बनाईने कार्ययोजना तथा नीतिहरुलाई कार्यान्वयनमा ल्याईने उहाँले बताउनुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वबिद्यालय The Research Centre for Nepal And Asian Studies (सिनास) का कार्यकारी निर्देशक मृग्रेन्द्र बहादुर कार्की र गृहमन्त्रालयका सह सचिव थानेश्वर गौतमले अध्ययन प्रतिवेदन सन्दर्भमा आ–आफ्नो विचार राख्नुभएको थियो ।
सो अवसरमा प्रहरी उपरीक्षक मनोज कुमार केसीले अध्ययन प्रतिवेदन सार्वजनिकीकरण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय लगायत ७ वटै प्रदेशका विभिन्न १५ जिल्लाहरुमा उक्त सर्वेक्षण गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा पोष्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स (पिजिडिपिएस) कार्यक्रम सल्लाहकार प्रा.डा. राजिव विक्रम राणा, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी अधिकृतहरु लगायत प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेको थियो ।
Categorized in राष्ट्रिय