इजरायली आक्रमणमा रोयटर्सका पत्रकारको मृत्यु
SamacharDesk | २०८० आश्विन २८, आइतबार

इजरायली मिसाइल आक्रमणमा परि रोयटर्सका पत्रकारको मृत्यु भएको छ । दक्षिण लेबनान सीमामा रिपोर्टिङमा खटिएका रोयटर्सका भिडियो पत्रकार अब्दुल्लाहको मिसाइल आक्रमणमा ज्यान गएको रोयटर्सले जनाएको हो ।
रोयर्टर्सका अनुसार पत्रकार अब्दुल्लाहको अन्त्येष्टि उनकै गृहनगर अल खियाममा गरिएको थियो ।अन्त्येष्टिको क्रममा उनलाई श्रद्धाञ्जली दिन पत्रकारहरुले आफ्ना क्यामेराहरु अब्दुल्लाहको चिहानमा राखेको फोटो रोयटर्सले आफ्नो वेबसाइटमा राखेको छ ।
यस्तै रोयर्टर्सकै अनुसार अल जजिरा र एएफपीका पत्रकार सहित ६ जना पत्रकारहरु घाइते भएका छन् ।
इजरायली सेना र हिजबुल्लाहबीच सीमामा लडाइँका क्रममा पत्रकारहरु आक्रमणमा परेका थिए । इजरायली हवाई आक्रमणमा प्यालेस्टाइनबाट सञ्चालित अल खाम्सा न्युजका प्रधान सम्पादक सइद अल तवीलसमेत मारिएका छन् ।
युद्धमा परी हालसम्म ११ जना पत्रकारको मृत्यु भैसकेको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे)ले जनाएको छ । जसमा ९ प्यालेस्टिनी, एक लेबनानी र एक इजरायली पत्रकार रहेका छन् ।
त्यस्तै आक्रमणमा प्यालेस्टिनी पत्रकार सइद अल तवील र मोहम्मद सोब पनि मारिएका जनाएको छ । उनीहरु दुबैजना प्रत्यक्ष प्रसारण गरिरहेका क्रममा मारिएका हुन् ।
विभिन्न संचार माध्यमका अनुसार इजरायली फोटोपत्रकार रोई इदान बेपत्ता रहेको छ भने इदान र उनकी छोरीलाई हमासले बन्धक बनाएको आशंका गरिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय