‘संक्रमितको बढ्दो संख्याले हर्ड इम्युनिटिको विकास गर्छ’
SamacharDesk – बिकाश | २०७७ भाद्र १२, शुक्रबार

सरकारी चिकित्सक संघका अध्यक्ष डा. रविन खड्काले कोरोना महामारीले समस्यासँगै अवसर पनि ल्याएको बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा बोल्दै संघका अध्यक्ष डा. खड्काले संचारमाध्यममा र सामाजिक संजालमा कोभिड सम्वन्धि नकारात्मक खबरहरु आउने गरेको भएपनि योसँगै सकारात्मक पक्षहरु पनि रहेको धारणा राखे ।
कालो बादलमा पनि चाँदिको घेरा हुन्छ भन्दै उनले यहि महामारीको अवस्थाका कारण नेपालमा स्वास्थ्य सेवा र स्वास्थ्य प्रणालीको सुदृढिकरणको ढोका खोलेको बताए ।
‘यो समयमा नेपालमा अस्पतालको संख्या वृद्धि भएको छ, शैय्या थपिएका छन्, सेवा विस्तार भएका छन्’ डा. खड्काको भनाई थियो । ‘जिल्ला अस्पतालमा समेत आइसीयू र भेन्टिलेटरको वन्दोवस्त भएको छ, पिसिआर ल्याबको विकास भएको छ । जुन अहिले मात्र नभई भविष्यमा समेत खोज, अध्ययन, अनुसन्धानमा उपयोगी हुनेछ ।’
यहि परिवेशले समाजमा सामूहिक रुपमा अघि बढ्ने परिपाटीको विकास गरेको विचार पनि डा. खड्काले राखे ।
हाल संक्रमण बढ्दै गरेको अवस्थामा संक्रमितको बढ्दो संख्याले हर्ड इम्यूनिटी अर्थात समुदायमा रोग प्रतिरोधी क्षमताको विकास हुने पनि उहाँले बताए ।
हर्ड इन्यूनिटीको विकासले भविष्यमा समुदायलाई यस भाईरसबाट बचाउन ठुलो सहयोग हुने जानकारी उनले दिए ।
चिकित्सकलाई दुर्व्यवहार गर्नेलाई 'जेल विडाउट बेल' लागू गरिनुपर्ने
केही दिनयता वानेश्वर, जाजरकोट लगायत विभिन्न स्थानमा चिकित्सक, स्वास्थ्यकर्मी लगायतलाई दुर्व्यवहार भएको सम्झिँदै डा. खड्काले जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीलाई सम्मान दिनुसक्नुपर्ने बताए ।
संक्रमण दर बढिरहेको अवस्थामा स्वास्थ्यकर्मी र चिकित्सक अछुटो नरहने अवस्थामा स्वास्थ्य सेवामा असर पर्ने उनको भनाई थिाये ।
विरामीलाई सेवा दिने क्रममै सयौंको सख्यामा स्वास्थ्यकर्मी संक्रमित भइसकेको बताउँदै डा.खड्काले संक्रमित चिकित्सक आइसोलेसनमा बस्नुपर्ने अवस्था र सेवा दिइरहेका चिकित्सकलाई पनि दुव्र्यवहार हुँदा मनोबल गिर्ने र सेवा प्रवाहमा असर हुने सम्भावना औंल्याए ।
कार्यस्थलमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि हुने दुव्र्यवहारको अन्त्य गर्न 'जेल विडाउट बेल' लागू गरिनुपर्ने माग खड्काले राखे ।
संक्रमितलाई छिछि दुरदुर गर्ने गरेकोमा संक्रमण निको भएकाकै रगतबाट कोभिड १९ को गम्भीर विरामीलाई प्लाज्मा थेरापीमा सहयोग हुनसक्ने कुरा पनि सम्झिन उहाँले आग्रह गरे ।
अहिले सारा विश्व कोभिड विरुद्धको लडाईँमा रहेको र यो लडाईँ एक्लै, एउटा समुदाय वा वर्गले लड्ने नभई संयुक्त रुपमा लड्नुपर्ने भएकोले नागरीक, राज्य सबै मिलेर आआफ्नो भूमिकामा जुट्न उहाँले आव्हान गरे ।
साथै आम नागरिकले बन्दाबन्दीका मापदण्ड पूरा गर्न, आहारविहारमा परिवर्तन र सकारात्मक विचारको विकास गर्न पनि उहाँले आग्रह गरे ।
Categorized in राष्ट्रिय